
पूर्णपुष्टि, असोज १५
आज रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ ।
२०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि सुनको लेपन भएको गजुर राखिएको हो ।
यसअघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।
१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर यसपटक फेरि पुरानै शैलिमा पुनर्निर्माण गरिएको छ । मन्दिरको शिरमा रहेको गजुरको कुल उचाइ ६ फुट १० इन्च रहेको छ । ताम्रपत्रमा सुनको लेपन लगाएर गजुरको निर्माण गरिएको हो ।
मन्दिरमा राखिएका सबै गजुरमा करिब २८ तोला सुनको जलप लगाइएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । मन्दिरको गजुर १ सय २३.७५ किलो ग्राम ताम्रपत्र प्रयोग गरिर निर्माण गरिएको छ । मुख्य गजुरमा मात्रै २५.७३ तोला सुनको प्रयोग भएको छ । गजुर निर्माणमा झण्डै ३३ लाख रुपैयाँ खर्च भएको जनाईएको छ ।
२०७२ साल माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुननिर्माणको शिलान्यास गर्नुभएपछि पुननिर्माणको काम सुरु भएको थियो । तर बीचमा आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि फेरि पुरानै शैलीबाट निर्माण गरिएको हो । त्यसैले शिलान्यास भएको झण्डै पाँच वर्षपछि मात्रै रानीपोखरी पुनर्निर्माणको काम सकिने चरणमा छ ।
यसपटकको भाइटिकाको दिन मन्दिर खुला गर्ने गरी पुनर्निर्माणका सबै प्रक्रियालाई सम्पन्न गर्ने योजना अनुसार काम भइरहेको जनाईएको छ । अब मन्दिर भित्र रहने मूर्तिहरुको प्राण प्रतिष्ठान गरी प्रतिस्थापन गरेपछि औपचारिक रुपमा उद्घाटन गरिने जनाईएको छ ।

