
उदयपुर/फागुन, १६
नेपाल सरकारले अवलम्बन गरेको समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालिन सोच बमोजिम एक नागरिक एक फलफुलको विरुवा कार्यक्रम अनुरुप नेपालीसेनाले उदयपुरको रौतामा गरेको बृहद बृक्षरोपणलाई १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रशंसा गरेका छन् । उदयपुरको प्रमुख धार्मीक एवम् पर्यटकीय स्थल रौता पोखरीमा सेनाले गरेको बृहद बृक्षरोपणको मुख्यमन्त्री राईले प्रशंसा गरेका हु्न् ।
सार्बभौम शक्ति र अधिकार जनताकै हातमा रहेको अहिलेका अवस्थामा विकासको खाका, बजेट बाँडफाँट आफैले बनाउने भएकाले समृद्धि र विकास सम्भव रहेको भन्दै मुख्यमन्त्री राईले नेपाली सेनाले जस्तै सबैले हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।
नेपाली सेनाको १८ नं. बाहिनी र सोको मातहतको रणसार्दुल गण बोक्सेको आयोजना तथा रौतामाई गाउँपालिकाको व्यवस्थापन सहयोगमानेपाली सेनाले रौता क्षेत्रमा पाँचसय रोपणी क्षेत्रमा ६ हजार ३ सय वटा बृक्षरोपण गरेको हो । जडिबुटिजन्य तेजपत्ता, जापानीज नासपाती र टिमुरका बिरुवा रोपिएका हुन् । बृहद बृक्षरोपणको उद्घाटन गर्दै मुख्यमन्त्री राई र प्रधानसेनापती पूर्णचन्द्र थापाले विरुवा रोप्नुभएको थियो । त्यस्तै १ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की र प्रदेश सांसदहरु नारायणबहादुर बुर्जा मगर, अम्बिका थापा, नगर तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिरकारी, सुरक्षा अधिकारीहरु लगायत विशिष्ट व्यक्तित्वहरुले पनि त्यस अवसरमा विरुवा रोपेका थिए ।
वन, बन्यजन्तु र पर्यवरणको संरक्षणमा विशेष योगदान पुर्याउदै आएको नेपाली सेनाले प्रकृतिका साथ समृद्धि भन्ने नारा दिई हरेक ब्यारेक हातामा एक सिपाइ, एक फलफुल विरुवा रोप्ने कार्यका साथै देशको विभिन्न खाली भुभागमा सम्बद्ध पक्षसंग सहकार्य गरी बृक्षरोपण गर्ने कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको छ । अभियानले निरन्तरता पाउने प्रधानसेनापती थापाले बताउनुभयो ।
बृक्षरोपणले प्राकृतिक हराभरा मात्र नभई जडिबुटि तथा फलफुलको हिसावले पालिकालाई समृद्धिमा टेवा पर्याउने विश्वास लिइएको छ । परिक्षणको रुपमा लगाईएको विरुवाहरु सफल देखिएमा गाउँगाउँमा पनि वितरण गरिने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनुभयो । चरिचरण बन्द गर्न र रेखदेखमा गाउँले सबै लाग्न पालिकाले उर्दी गरेको छ । विरुवाको संरक्षण तथा मलजल र रेखदेखको जिम्मा रौतामाई गाउँपालिकाले लिएको छ ।
बृहद बृक्षरोपणले विशेष अर्थ राख्ने भन्दै खुसी व्यक्त गरिएको छ । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले बृक्षरोपण कार्यक्रम विशेष बनेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले प्रकृतिले दिएको बरदानको रुपमा रहेको रौताको महत्वको बारेमा देशैभर प्रचार प्रसार हुनुका साथै स्थानीयलाई केही गर्न सन्देश दिएको बताउनुभयो । पालिकाकी उपप्रमुख कुमारी राना ज्यू ठकुरीले धार्मीक आस्थाको रुपमा मानिने रौतालाई थप पर्यटकीय माहौल बनाएको बताउनुभयो । पालिकालाई एककदम अगाडि बढाउने पनि उहाँले बताउनुभयो । स्थानीय युवा केशब राईले कार्यक्रमले स्थानीय जनता उत्साहित बनेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले नेपाली सेना र पालिकाको अथक प्रयास र तयारीबाट कार्यक्रम सोचेभन्दा राम्रो सम्पन्न भएको बताउनुभयो ।कार्यक्रमको अवसरमा बरिष्ठ पत्रकार कौशल चेम्जोङ, उदयपुरगढी निवासी खम्ब थापा, टिम्बुर विरुवाविज्ञ सागर बानिया, भूपु नेपाली सेना हर्कबहादुर विष्टलगायतविभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएको थियो ।
हेलिकेप्टरबाट आउनुभएका मुख्यमन्त्री राई र प्रधानसेनापती थापाको स्थानीयले भब्य स्वागत गरेका थिए । पालिकाको ६ नं. वडा कार्यालय भवनको उद्घाटन र अतिथि गृह भवनको सिलान्यास पनि भएको थियो । मुख्यमन्त्री राईले दुबै भवनको उद्घाटन र सिलान्यास गर्नुभएको थियो ।


