
पूर्णपुष्टि, चैत २९ ।
प्रहरीले अव लकडाउन अवज्ञा गर्नेहरुलाई त्यतिकै नछाड्ने भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले आजबाट लकडाउन तोड्नेलाई नियन्त्रणमै लिन सुरु गरेको छ । आफु पनि संक्रमणको खतरामा र अरुलाई पनि खतरामा पार्ने भएकाले लकडाउन अवज्ञा गर्नेहरुलाई खव कारवाही चलाइने प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले लकडाउन अवज्ञा गर्ने ३२ जनालाई आज नियन्त्रणमा लिइएको छ । सदरमुकाम गाइघाट आसपासबाट नियन्त्रणमा लिइएका उनीहरुलाई निभर प्रहरी कार्यालयकै नियन्त्रणमा राखेर कोरोना र लकडाउनको बारेमा शिक्षा दिएर साँझ छाडिएका छन् । पहिलो दिन सबैलाइ चेतावनी स्वरुप लकडाउन शिक्षा दिएर छाडिए पनि भोलीदेखि मुद्दासमेत चलाउन सकिने बताउनुभयो ।
लकडाउनको अर्थ घरमै सुरक्षित भएर बस्ने भन्ने मात्र नभई विश्वलाई फैलिरहेको कारोना भाइरसको संक्रमण फैलन नदिनु भएकाले यसप्रति लापरवाही गर्नेलाई अव कारवाही हुने एसपी मगरले बताउनुभयो । लकडाउन अवज्ञा गर्नेलाई अव रोग संक्रमण सम्बन्धी ऐन अन्तर्गत मुद्दा चलाइने बताउनुभयो ।
कलडाउन अवज्ञा गरेर कारवाहीको अवस्थामा नपर्न सर्बसाधारणलाई आग्रह गर्दै एसपी मगरले आज १८ औं दिनसम्मको अवस्थालाई हेर्दा अझै पनि कतिपय सर्बसाधारण कोरोना भाइरसप्रति गम्भिरताका साथ सतर्क र सचेत नदेखिएको बताउनुभयो ।
“अझै पनि कतिपय मानिस कोरोना फैलिएको छैन, केही हुन्न भन्ने मानसिकताका छन् ।” एसपी मगरले भन्नुभयो “त्यस्ताले नै जोखिम बढाउने भएकाले अव कारवाहीको अवस्थामा पुगेका हौ ।”
३ जनालाई मुद्दा
यसअघि नै लकडाउनलाई अवज्ञा गरेकोमा ३ जनालाई मुद्दा चलाइएको उहाँले जानकारी दिनुभएको छ । आफु पनि संक्रमणको खतरामा र अरुलाई पनि खतरामा पार्ने गरी हिडेको पाइएकाले रोग संक्रमण सम्बन्धी ऐन अन्तर्गत उनीहरुलाई मुद्दा चलाइएको हो ।
एउटा मोटरसाईकलमा चढेका तीनै जनालाई लकडाउनको डिउटीमा खटिएका प्रहरीले नियन्त्रण लिएको थियो । उनीहरुले विरामीको नाटक गर्दै प्रहरीलाई छल्न खोजेपनि प्रहरीले चेकजाँच गरेपछि गल्ती पत्ता लागेको थियो । बीचमा बस्नेले पेट दुखेको भन्दै नाटक गरेर अस्पताल जान लागेको भनेका थिए । प्रहरीले चेकगर्दा पेट नदुखेको र अस्पताल पनि नहिडेको पत्ता लागेको थियो ।
उनीहरुको साथमा ठूलो मात्रामा मोवाईलको रिचार्ज कार्ड फेला परेको प्रहरीले जनाएको छ । यसरी ट्राफिक नियमसमेत उलंघन गर्दै लकडाउनको अवज्ञा गरेको पाएपछि मुद्दा चलाइएको प्रहरीले जनाएको छ । हाल म्याद थप भई उनीहरुमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको एसपी मगरले बताउनुभयो ।
