
पूर्णपुष्टि, साउन ३२
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियमहरु पालना गर्न सर्वसाधारणलाई गृह मन्त्री रामबहादुर थापाले अपिल गर्नुभएको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउन पूर्णरुपमा पालना गर्न मन्त्रि थापाले अपिल गर्नुभएको हो ।
सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भएकाले सवै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । सरकार र नागरिक सबैले एकसाथ सचेत भइ नियमहरु पालना गरेमा सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने बताउनुभयो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू भए पनि सङ्क्रमण बढिरहेकाले सरकारले केही कडाइ गरी नियन्त्रणको प्रयास गरिरहेको गृह मन्त्री थापाले बताउनुभयो । फेरि लकडाउन गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रस्ट पार्नुभयो ।
लकडाउनका कारण आर्थिक समस्या देखिन थालेपछि सरकारले कोरोना र आर्थिक सङ्कटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको छ । सरकारले देशभित्र प्रवेश गर्ने १० वटा नाका तोके पनि अझै लुकीछिपी आउने काम भइराखेको जनाईएको छ ।
अहिले पनि खुला नाका नियन्त्रणका लागि एक हजार दुई सयभन्दा बढी बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको गृह मन्त्री थापाले बताउनुभयो । अहिले देशमा बाढी पहिरो र कोरोनाको सङ्कट एकैपटक आएकाले यसको समाधानमा समस्या देखिएको बताउनुभयो ।
कोरोनाको लागि कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) क्रियाशील रहेको र बाढी पहिरोको लागि विपद् जोखिम न्यूनीकरण व्यवस्थापन समितिले काम गरिराखेको थापाले बताउनुभयो । यस वर्ष मनसुन सुरु हुनभन्दा अगाडि नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठक बसेर पूर्वतयारी गरिएको थियो ।
विपद्को समस्या गृह मन्त्रालयको मात्रै नभएर अन्य केही सरोकारवालाको पनि समस्या भएकाले ती निकायबीच तालमेल हुन नसक्दा उद्धार तथा राहत कार्यमा केही समस्या आएको थापाले बताउनुभयो ।
गृह मन्त्री थापाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र गृह मन्त्रालय अन्तर्गत रहेको रकमबाट उद्धार र पुनर्स्थापनाका लागि निकासी गरी काम भइराखेको बताउनुभयो ।
बाढी पहिरोका कारण क्षति पुगेको ठाउँमा रोकथाम तथा नियन्त्रणका लागि केन्द्र, प्रदेश र पालिकामा तयारी गरिएको छ । हरेक वर्ष पूर्वतयारी गरिए पनि उद्धारका लागि साधन र सामग्रीहरुको समस्या रहेको देखिन्छ ।
