
पूर्णपुष्टि, वैशाख २४ ।
उदयपुरकाे लिम्चुङबुङ गाउँपालिकाले मानिस आवतजावत गर्ने प्रमुख तीन ठाउँमा हेल्थडेस्क राखेको छ । पालिकामा पहिलो पटक एकजनामा कोरोना पोजेटिभ देखिएसंगै उच्च सतर्कता अपनाउदै कोरोना नियन्त्रणका कदमहरु प्रभावकारीरूपमा चालिएकाे पालिकाका लेखा अधिकृत तथा सुचना अधिकारी ताराकिरण राईले बताउनुभयो ।
पालिकाको वडा नं. १ बाँसबोटेका अन्दाजी ४० बर्षिय एक पुरुषलाई दुईदिनअघि कोरोना परिक्षणमा पोजेटिभ देखिएको थियो । उनलाई अहिले बेल्टारस्थित कोरोना हस्पिटलमा राखि उपचार भईरहेको छ ।
पालिकाको प्रमुख नाका माझखर्क, बाँसबोटेको बतासे र बलम्ताको चनौटेमा हेल्थडेस्क राखिएका छन् । हेल्थडेस्कमा स्वास्थ्यकर्मी र स्वयम्सेवक बसेर पालिका तथा गाउँ प्रवेश गर्नेहरुको विवरण तयार गर्ने गर्दछ । साथै पालिका बाहिरिएकाहरुको विवरण पनि तयार पार्दछ । खासगरी विदेश तथा कोरोना प्रभावित क्षेत्रबाट आएकाहरुको विवरण लिने गर्दछ । जसले पालिकालाई उनीहरुको स्वस्थ्य निगरानी राख्न सजिलो हुन्छ । ज्वरो आएकाहरुलाई थर्मोगनले नापिन्छ र शंकास्पद देखिएकालाई तत्कालै एन्टिजेन परिक्षण गर्न स्वास्थ्य संस्था पठाइन्छ । सबै स्वास्थ्य चौकीमा एन्टिजेन किट ब्यवस्था गरिने जनाइएको छ ।
एन्टिजेन परिक्षणमा कोरोना पोजेटिभ देखिए तत्कालै पालिकाकै आइसोलेशनमा पठाइन्छ । गम्भिर अवस्थाकालाई भने एम्बुलेन्सबाट बेल्टारस्थित कोरोना हस्पिटल लैजाने ब्यवस्था पालिकाले मिलाएको छ । हालै पालिकाले कोरोना विरामी राख्न बराहास्थित महेन्द्र माध्यामिक विद्यालयमा १० बेडको आइसोलेसन बनाएको छ ।
पालिकाले हरेक वडाको स्वास्थ्य चौकीमा एक÷एक वटा अक्सिजन सिलिण्डर भरेर राखेको छ भने अन्य १० वटा खरिद प्रक्रिया अघि सारेको जनाएको छ । साथै अक्सिजनको मात्रा थाहा पाउने अक्सिमिटर पनि खरिदको प्रक्रियामा रहेको जनाइएको छ ।
कोरोना नियन्त्रणमा टोलविकास संस्था परिचालन गरिने
कारोना नियन्त्रणमा पालिकाले सबै टोलविकास संस्थाहरुलाई परिचालन गर्दैछ । पालिकाले गठन गरेका ५६ वटा टोलविकास संस्थाहरु परिचालन गरिनेछन् । पालिकाबासीहरु कुनै न कुनै टोलमा नै बस्ने भएकाले आप्mनो टोलमा को आयो वा को बाहिर गयो भन्ने निगरानी टोल विकास संस्थाले नै गर्न सक्छ ।
टोल भित्रका गतिविधि टोल विकास संस्थालाई थाहा हुने भएकाले पालिकाले विशेष जिम्मेवारीसहित परिचालन गर्न लागेको सूचना अधिकारी राईले बताउनुभयो । वहाँका अनुसार विदेश गएर आएकाहरुले स्वास्थ्य मापदण्ड अनुरुप १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता टोल विकास संस्थामा गर्नुपर्ने नियम बनाइएको छ । उनीहरुको स्वास्थ्य निगरानी तथा अन्य स्वास्थ्य गतिविधिको बारेमा टोल विकास संस्थाले निगरानी गर्नुपर्ने र स्वास्थ्य संस्था तथा पालिकालाई जानकारी दिनुपर्ने जिम्मेवारी रहेको छ ।
पलिकाको टोलविकास संस्थाहरु सबै परिचालन भएको अवस्थामा पालिकालाई कोरोनाप्रतिको निगरानी तथा नियन्त्रणमा ठूलो मद्दत पुग्ने पालिकाको आशा छ ।
