Tuesday, May 5News That Matters

लिम्चुङ्बुङको क्षतिग्रस्त सडक संचालन

उदयपुर, साउन २९ गते ।

अविरल वर्षाले क्षतीग्रस्त भएका लिम्चुङबुङको सडक मर्मतपछि संचालनमा आएको छ । क्षतीग्रस्त सडक मर्मत गरेपछि गाउँपालिकाका केन्द्रसम्म बुधबारदेखि सडक संचालनमा आएको हो ।

गत २१ गतेबाट गाईघाट–मुर्कुची–पुँवारे–माझखर्क–लिम्चुङ्बुङ सडक खण्ड मर्मत सुरु गरिएको थियो । तीन ठुला मेसिन तीनै ठाउँबाट एकै साथ प्रयोग गरी सडक मर्मत गरी पालिका केन्द्रसम्म सडक सुचारु गरेको मुर्कुची–पुँवारे–डिल्लिबर–माझखर्क–लिम्चुङ्बुङ सडक मर्मत उपभोक्ता समितिले जनाएको छ ।

वर्षापछि प्राकृतिक नाकाबन्दीमा परेको पालिकाको केन्द्रसम्म सडक खुलाई खाद्य ढुवानी गर्ने गरी वान वे ट्रयाक खोलेको मुर्कुची–पुँवारे–डिल्लिबर–माझखर्क–लिम्चुङ्बुङ सडक मर्मत उपभोक्ता समितिका सदस्य नेत्रबहादुर कार्कीले बताए ।

सडक खुलेपछि स्थानियबासी खुसी भएको र खाद्यन्न बोकेको ट्याक्टर र बोलेरो समेत माझखर्क र पालिका केन्द्र बाराहा पुगेको उनले बताए । कटारी–बेतेनी–ईनामे–माझखर्कको सडक पनि संचालनमा आएको छ । माझखर्कदेखि पुवारे विचको सडक धेरै क्षती भएकाले मर्मत गर्न कुनै ठाउँमा समस्या परेको उनले बताए ।

लामो समयसम्म खडेरी लागेर बारीमा लगाएको अन्नबाली उत्पादन नभएको एक्कासी परेको पानीले सडक अवरुद्ध हुदा खाद्यन्नको केहि समस्या आएको थियो । तर अब त्यो टरेको उनले बताए । पूर्वधार विकास मन्त्रालय, १ नं. प्रदेश, पालिकाहरुको सहयोगमा मर्मत कार्य भएको समतिले जनाएको छ ।