
पूर्णपुष्टि,माघ २५
वडा सदस्य निरज चौधरीको घरमा स्थानीय एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेको छ । आज विहानै कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य चौधरीको घरको कोठामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीलाई ९ बजे खबर भएको थियो । प्रहरीले शनिबार राति वा बिहान ६/७ बजेको घटना पनि हुन सक्ने आसङका गरेको छ । घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा मृतक झुण्डिएको कोठा बाहिरबाट बन्द र खुट्टा भूइँमा टेकेको अवस्था थियो । प्रहरीले हत्या वा आत्महत्या के हो छुट्याउन सकेको छैन ।
अनौपचारिक तथा प्रारम्भिक जानकारीका अनुसार अविवाहित युवतीको वडा सदस्यसँग प्रेम सम्बन्ध थियो । युवतीको नाम खुलाइएको छैन ।
