
फागुन २ गते ।
सिन्धुपाल्चोकको एक गाउँपालिकाका वडा अध्यक्षसहित छ जनालाई भ्रष्टचारको मुद्दा दायर भएको छ । लिसङ्खुपाखर गाउँपालिका–६ का वडाध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो ।
अध्यक्ष थापाले खानेपानी उपभोक्ता समितिको अध्यक्ष आफैँ कुनै पनि कामै नगरी जिल्ला खानेपानी योजनाको कागजपत्र किर्ते बनाई रकम निकासा गरी हिनामिना गरेको आरोप लागेको मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
वडाध्यक्ष थापाले छ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । गाउँपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरञ्जन पाख्रिन र तत्कालीन लेखापाल सुरेन्द्रबहादुर तितजुले पनि उपभोक्ता समितिका अध्यक्ष एवं वडाध्यक्ष थापासँग मिलेर भ्रष्टाचार गरेको खुलेको छ । त्यस्तै तत्कालीन असिस्टेन्ट सब–इन्जिनियर लिलबहादुर पाण्डेविरुद्ध छ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ ।
५ नम्बर वडाको बाबुलाल जोशी र दल बहादुर श्रेष्ठले वडाध्यक्षसँग चार लाख १० हजार रुपैयाँ मागेर व्यक्तिको खातामा राखेकाले उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
