
पूर्णपुष्टि, चैत १४
विश्वमै सबैभन्दा धेरै वायु प्रदूषण काठमाण्डौमा देखिएको छ । काठमाण्डौको एक्यूआई अहिले ४२१ रहेको विश्वका सहरको हावाको शुद्धता मापन गर्ने आइक्यू एअर डटकमले देखाएको छ ।
काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न ठाउँको हावाको प्रदूषण अझै केही दिन रहने भएको छ । हिजो स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको हावाको प्रदूषण खतराको अवस्थाबाट अझै तल झरेको छैन ।
हिजो काठमाण्डौमा एक्यूआई ४७० सम्म पुगेको थियो । हिजोको तुलनामा केही कम भएको देखिए पनि यो सुधार हुन अझै केही दिन लाग्ने वातावरण विभागले जनाएको छ ।
हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानु स्वास्थ्यका लागि घातक मानिन्छ । ३ सयभन्दा माथि पुग्नुलाई अति हानिकारक मानिन्छ ।
नेपालमा धेरैजसो जिल्लाहरुमा डढेलो लागिरहेको र तत्काल पानी पर्ने सम्भावनासमेत नरहेकाले अबको केही दिनसम्म वायुमण्डल सुधार हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाको भक्तपुर, कीर्तिपुर, भैंसेपाटी, सिमरालगायतका ठाउँको एक्यूआई हिजोदेखि तीन सय नाघेको छ ।
हेटौँडा, विराटनगर, जनकपुर, धनगढी लगायतका ठाउँमा पनि हावाको प्रदूषण अत्याधिक बढेको छ । हावाको प्रदूषण मापन सूचक (एक्यूआई) सबैभन्दा धेरै काठमाण्डौमा देखिएको छ । काठमाण्डौ उपत्यकामा एक्यूआई ३ सय नाघेको छ ।
अत्याधिक प्रदूषणमा क्यान्सरजन्य रसायनसमेत मिसिएको हुने भएकाले यस्तो बेलामा छातीको रोगमात्र नभएर क्यान्सरको जोखिमसमेत हुने छाती रोग विशेषज्ञरुले बताएका छन् । प्रदूषणका कणहरु श्वासप्रश्वास नलीको भित्तामा जम्मा भएमा दीर्घकालीन दमलगायत रोग लाग्नुका साथै क्यान्सरको खतरासम्म हुने छातीरोग विशेषज्ञको भनाइ छ ।
उपत्यकाको प्रदूषणमा गाडीको भूमिका ३० प्रतिशत, पूर्वाधार निर्माणको ५३ प्रतिशत र इँटाभट्टाको नौ प्रतिशत रहने गरेको छ । त्यस्तै बाँकी आठ प्रतिशत उद्योग–कलकारखाना, फोहोर जलाउँदा, घरभित्रको धुवाँ रहने गरेको वातावरण विभागले जनाएको छ ।
यसअघि गत पुसमा पनि प्रदूषण निकै बढेको थियो । त्यसबेला पनि प्रदूषणका कारण मानिसहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणको असरबाट जोगिन अपिल गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँको वायु प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेको भन्दै घरबाहिर खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने जस्ता काम नगर्न अपिल गरेको हो ।
बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले फोहर नजलाउन पनि अनुरोध गरेको छ ।
त्यस्तै घरबाहिर ननिस्कन, निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गर्न र धुलो, धुँवा उड्ने पेसा, व्यवसाय केही दिनलाई रोक्न र अति आवश्यक नभइ गाडी नचलाउन भनेको छ ।
