
उदयपुर, साउन २२ गते ।
यसवर्षको असार अन्तिमको वर्षातले धेरै धनजनको क्षती भयो । धेरैको विल्लिबाठ बनायो । त्यसै सन्दर्भमा उदयपुरको पोखरी गाउँ पहिरोको उच्च जोखिममा परेको छ । पोखरीको बस्ती नै स्थानान्तर गर्नुपर्ने अवस्था परेको छ ।
रौतामाई गाउँपालिका–५ को पोखरी गाउँ पहिरोले पुर्ने उच्च जोखिम भएपछि सिंगो बस्तीनै स्थानान्तर गर्नुपर्ने अवस्था आएको पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । पोखरीमा ११ वटा पसलघरसहित करिब दुईदर्जन घरपरिवार उच्च जोखिममा रहेका छन् ।

बस्तीभन्दा माथिको अग्लो पहरा विष्फोट भए झै गरी भत्किन सुरु गरेको छ । ठूलठूला चट्टान खस्न लागेका छन् । खसेको खण्डमा सिधै घरको छानोछानोमा पर्ने र ठूलो धनजनको क्षती पुर्याउने जोखिम छ । उक्त ठाउँको मंगलबार प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु, राजनीतिक दलका नेताहरु र पालिकाका जनप्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको थियो । टोलीले बासिन्दाको सुरक्षा र बस्ती स्थानान्तरणको लागि चिन्ता लिएको छ भने समाधानका उपाय र विकल्पको खोजीमा पनि लागेको छ ।
प्रमुख जिल्ला अधिकारी ध्रबबहादुर खड्काले वस्ती सार्नुको विकल्प नरहेको बताए । हिउद वा वर्षा कुनै पनि समय त्यहाँ पहिरोको उच्च जोखिम रहेकाले जतिसक्दो चाँडो बस्तीलाई सुरक्षित स्थानमा सार्न आवश्यक देखिएको प्रजिअ खड्काले बताए ।

स्थानीयका अनुसार गत साउन १० गते विहान एक्कासी डाँडाको एकछेउ भत्किएको थियो । भत्किएर खसेका दुई ठूला ढुंगा धराप झै अडिएका छन् भने डाँडा थप भत्किने अवस्थामा देखिएको छ । अवका अवस्थामा भत्किएमा सिधै बस्तीमाथि खस्ने अवस्था रहेका वडाध्यक्ष पाण्डब राईले बताए । “अस्ति भत्किदा बीचमा रहेको एउटा खाल्डो पुरिएकाले ढुंगाहरु माथि नै अडिएका छन्, तर अव भत्किएमा सिधै बस्तीमा खस्ने हो ।” उनले भने “अडिएकै ठूला ढुंगाहरु पनि कतिबेला खस्ने हो भन्ने टुंगो छैन ।”

केही तल दुधकोशी नदी बगिरहेको छ । गएको ९० सालको भुकम्पमा पहाडदेखी कोशीतर्फ बगेर बसेको जमिनमाथि नै हाल पोखरी बस्ती बसेको बुढापाकाहरु बताउँछन् । सिंगो बस्ती बसेको जमिन कुनै पनि बेला बग्नसक्ने जोखिम पुरानो छदाछदै यसपटकदेखि बस्तीमाथिको डाँडा भत्किन थालेपछि बस्तीको जोखिम झनै उच्च भएको वडाध्यक्ष राईले बताए ।
होटल, पसलसहितको सामान्य बजारको रुपमा विकसित हुदै गरेको उक्त बस्ती अहिले चिन्तामा डुबेको छ । गाईघाट–फोक्सिन्टार–रसुवा चल्ने सवारी साधनहरुको बिसौनीसमेत रहेको उक्त ठाउँमा व्यापार र राम्रो खर्च गरेर घर, पसल लगायतका संरचना बनाएकाले बासिन्दाहरुले बस्ती छाडिहाल्न भने सकेका छैनन् ।

छाडेर पनि कहाँ, कसरी बस्ने भन्ने टुंगो नभएकाले थप अन्यौल र चिन्तामा छन् । सडक नहुँदाको अवस्थामा पनि खोटाङतर्फको आवतजावत गर्ने ठाउँ भएकाले केही तलको खयारबासमा ब्यापार गर्दथे । सडक निर्माणपछि खयारबासबाट व्यापार त्यता सारिएको स्थानीयहरु बताउछन् ।
सो बस्ती आसपासमा सुरक्षित स्थानको खोजि गर्दा भनेजस्तो ठाउँ नपाएपनि केही ठाउँ विकल्पको रुपमा हेरिएको प्रजिअ खड्काले बताए । उनीहरुलाई सुरक्षित ठाउँमा सारेर खानेपानी, विजुली, सडका आदिको व्यवस्था मिलाउने सोच रहेको उनले बताए । त्यहाँका बासिन्दाले ठूलो लगानीका साथ घर निर्माण गरी बजार बसाएकाले झट्ट छाड्न नसकेको अवस्था रहेको पनि उनले बताए । सर्नुको विकल्प नरहेकाले आपसी छलफल गरेर जानकारी दिन लगाई अनुगमन टोली फर्केको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बताए ।
बासिन्दाहरुका अनुसार खयारबासमा व्यापार हुँदाताका पनि पहिरो बगेर एक स्थानीय र दुई बाँस बसेका बटुवा कोशीमा परेर बेपत्ता भएका थिए । त्यसबाहेक उक्त ठाउँमा बर्षा मात्र नभई हिउनको समयमा पनि ढुंगा पल्टिने, पहिरो खसेर स्थानीयहरु घाइते हुने गरेका थिए ।
फोटो फिचर



