Tuesday, June 30News That Matters

शुक्लाफाँटमा दुर्लभ सुनौलो तोप चरा

पूर्णपुष्टि, साउन ३

नेपालमा अति सङ्कटापन्न सुनौलो तोप चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाईएको छ । अन्य संरक्षित क्षेत्रमा देखिन छाडेपछि शुक्लाफाँटा सुनौलो तोप चराको एक्लो थलो बनेको हो ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन)ले रातो सूचीमा राखेको सुनौलो तोप चरा विश्वमै दुर्लभ मानिन्छ । नेपाल र भारतमामात्रै पाइने यो चरा नेपालका लागि भने अति सङ्कटापन्न सूचीमा रहेको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट दशक अगाडि नै हराएको सुनौलो तोप चरा हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै रहेको पाईएको छ । कोशीटप्पुमा सन २००७ देखि यो प्रजातिको चरा देखिएको छैन ।

शुक्लाफाँटाको सिकारी ताल, सिंहपुरफाँटा, मोहनपुर, अण्डैया, पट्टैयाफाँटा र दरख घाँसे मैदानमा सुनौलो तोप चराको बसोबास रहेको छ । यसको हरेक वर्ष अनुगमन गर्ने गरिएको निकुञ्जले जनाएको छ ।

सुनौलो तोप चरा शुक्लाफाँटामा रहेको बारेमा सबैभन्दा पहिले चराविज्ञ डा. हेमसागर बरालले पत्ता लगाउनुभएको थियो । सन १९९६ मा आफ्नो विद्या वारिधिको लागि अनुसन्धान गर्न शुक्लाफाँटा पुग्नुभएका उहाँले सुरुमा ११ वटा सुनौलो तोप चरा देख्नुभएको थियो । त्यसपछि, सन २००८ मा बरालले नै सुनौलो तोप चराले सिकारी तालको आसपासमा गुँड लगाउने गरेको तथ्य पत्ता लगाएको निकुञ्जले जनाएको छ ।

मे देखि सेप्टेम्बरसम्म सुनौलो तोप चराले गुँड लगाउने, बच्चा हुर्काउने कार्य गर्दछ । शुक्लाफाँटामा पाइने सुनौलो तोप चराको तथ्याङ्क व्यवस्थित गर्ने प्रयास गरिरहेको निकुञ्जले जनाएको छ ।

सुनौलो तोप चराको सङ्ख्या नेपाल, भारत दुवै देशमा निकै कम रहेको पक्षी संरक्षण सङ्घ नेपाल (बीसीएन) ले जनाएको छ । नेपालमा यो वर्ष करिब १ सय को हाराहारीमा सुनौलो तोप चरा रहेको जनाइएको छ ।

सन् २०१७ मा ३ सय र २०१९ मा १ सय ७४ जति तोप चरा नेपालमा पाइएको छ । यो चराको विस्तृत अध्ययन गर्न बाँकी रहेको संघले जनाएको छ । नेपाल, भारत दुवै देशमा यसको सङ्ख्या घटिरहेकाले विश्वमै अति सङ्कटापन्न सूचीमा लैजाने कि भनेर छलफल चलिरहेको जनाईएको छ ।

नेपालमा छातीकाले, धर्के, बया र सुनौलो गरी ४ प्रजातिका तोप चरा पाइने गरेको जनाइएको छ । जसमध्ये सुनौलो तोप चरा तराई क्षेत्रमामात्रै पाइने गरेको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो । उहाँले शुक्लाफाँटामा पाइने सुनौलो तोप चराको संरक्षण र अनुगमन निकुञ्ज कार्यालय र बीसीएनले संयुक्त रुपमा गर्दैआएको उल्लेख गर्नुभयो ।

प्रकृतिमाथि मानवीय हस्तक्षेप बढ्दै जानुले यो चराको अस्तित्व खतरामा परेको छ । प्राकृतिक बासस्थानको विनाश, कृषिमा विषादीको बढ्दो प्रयोग जस्ता कार्य सुनौलो तोप चरा विनाशको प्रमुख कारण रहेको छ ।

नेपाल–भारत सीमानजिक पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ४ सय ५० प्रजातिको चराको बसोबास रहेको छ । जसमध्ये विश्वमै दुर्लभ २३ प्रजाति र नेपालका लागि अति सङ्कटापन्न ७४ प्रजाति रहेका छन् ।