
पूर्णपुष्टि, भदौ १७
सप्तरीबाट अवैध सखुवाको काठसहित दुई जना तस्करलाई प्रहरीले पक्राउ गरेको छ । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सखुवाको काठसहित रुपनी–१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रुपनी गाउँपालिका–१ बाट तस्करी गरेर लैजाँदै गरेको अवस्थामा काठसहित पक्राउ गरिएको डिभिजन वन कार्यालय सप्तरीले जनाएको छ । तीन थान सालको काठ (२.१८ घनफिट) बरामद भएको जनाईएको छ ।
पक्राउ परेका दुवैजनालाई सशस्त्र वन सुरक्षा शाखा शम्भुनाथको हिरासतमा राखिएको छ । काठ ओसारिरहेकामध्ये एक जना भागेको जनाईएको छ ।
पक्राउ परेका दुवै जनाको पीसीआर परीक्षण गरेर थप अनुसन्धान गरिने जनाईएको छ । लकडाउनमा वन अतिक्रमणसँगै अवैध काठ कटान गरी तस्करी मौलाएपछि डिभिजन वन कार्यालय सप्तरीले गस्ती बढाएको थियो ।
