
पूर्णपुष्टि, फागुन २०
आज सरकार र नेत्र विक्रम चन्द (विप्लव) समूहबीच तीन बुँदे सहमति भएको छ । बालुवाटारमा भएको दोस्रो चरणको छलफलको क्रममा तीन बुँदे सहमति भएको हो ।
सहमति अनुसार विप्लवले आफ्ना सबै राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने उल्लेख छ । त्यस्तै सरकारको तर्फबाट विप्लवमाथि लगाएको प्रतिबन्ध हटाउने, पक्राउ परेका विप्लवका सम्पूर्ण कार्यकर्ता रिहाइ र मुद्दा खारेजी लगायत छन् ।
सहमतिको विस्तृत विवरण भोलि दिउँसो २ बजे सार्वजनिक गरिने छ । आज संयुक्त विज्ञप्ति निकालेर सहमति भएको बारे जानकारी गराइएको हो ।
सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा (बालद) र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) ले विज्ञप्तिमा हस्ताक्षर गर्नु भएको छ ।

सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच हिजो पहिलो चरणको औपचारिक वार्ता भएको थियो । विप्लव समूहसँग वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय सरकारी वार्ता टोली बनाएको छ । यस्तै सरकारसँग वार्ताका लागि सर्त र एजेण्डासहित खड्कबहादुर विश्वकर्माको नेतृत्वमा विप्लव समूहको वार्ता टोली गठन भएको छ ।
विप्लव समूह विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको भन्दै सरकारले २०७५ सालको फागुन २८ गतेदेखि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।
