Friday, May 22News That Matters

साउनमा निर्यातमा सुधार, आयात घट्यो

पूर्णपुष्टि, भदौ २

चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिना निर्यात सुधार भएको छ भने विदेशबाट वस्तु आयात घटेको छ । साउन महिनामा वस्तु आयात १९.६ प्रतिशतले घटेको भन्सार विभागले जनाएको हो ।

गत वर्षको साउनमा एक खर्ब ६ अर्ब ७२ करोड रुपैयाँको वस्तु आयात भएको थियो । तर यो वर्षको साउन महिनामा ८५ अर्ब ८० करोड ६७ लाख रुपैयाँको वस्तु आयात भएको छ । यो गतको वर्षको साउनको तुलनामा आयात ११.५१ प्रतिशतले घटेको छ ।

यस वर्षको साउन महिनामा निर्यात व्यापार गत वर्षको तुलनामा करिब ९ प्रतिशतले बढेको छ । साउन महिनामा ९ अर्ब ६१ करोड ९८ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । गत वर्षको साउनमा ८ अर्ब ८३ करोड ६४ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो । यो वर्ष निर्यात ८.८७ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

सुरुको महिनामा व्यापार घाटा ९७ अर्ब १० करोड रुपैयाँ कायम भएको छ । गत वर्ष यही अवधिमा ९७ अर्ब ९५ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो ।

आयात व्यापार घटेपछि भन्सार राजस्व सङ्कलनमा कमी आएको छ । गत वर्ष साउनको तुलनामा यो वर्षको साउनमा भन्सार राजस्व सङ्कलनमा १७.०७ प्रतिशतले कमी आएको छ । साउनमा जम्मा २२ अर्ब ८४ करोड ७० लाख रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको छ । गत वर्ष यही अवधिमा २७ अर्ब ५४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।