Friday, May 22News That Matters

सिंहदरबारको फोहोर १५ दिन पछि उठाउँन सुरु


पूर्णपुष्टि,वैशाख ११ । सर्वोच्च अदालतले शुक्रबार काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउँन निर्देशन दिएपछि करिव १५ दिन पछि सिंहदरबारको फोहोर उठ्न थालेको छ । महानगरका मेयर बालेन्द्र साहले गत चैत्र २६ गते देखि सिंहदरबार क्षेत्रको फोहोर उठाँन बन्द गरेका थिए ।

मेयर साहले बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा सिंहदरबारको फोहोर लैजान नदिने अडान राखेका थिए । उनले आफ्नै अडानको कारण सिंहदरबार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या आएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा शुक्रबार आदेश जारी गरेको थियो ।

सिंहदरबारभित्रको फोहोर मैला उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्रप्रसाद घिमिरेले काठमाडौंको मेयर बालेनले फोहोर उठाउनको लागि ल्याण्डफिल साइटमा कुनै अवरोध नहुने जनाएपछि फोहोर लैजान थालेको बताए ।

सर्वोच्चको आदेशलाई पालना गर्दै मेयर साहले सर्वोच्चले दिएको आदेश अन्य निकायहरुले पनि पालाना गर्नुपर्ने बताएका छन् । ‘अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौं महानगरले मात्रै होइन, संघीय सरकार लगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक छ,’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।