
पूर्णपुष्टि, जेठ ३० ।
भारतीय नागरिकहरूले सर्लाही जिल्लाको पर्सा गाँउपालिका स्थित सशस्त्र प्रहरी पोष्टमा आज विहान आक्रमण गरेपछि गोली चलेको छ । पर्सा गाँउपालिका वडा नं ३ नारायणपुर स्थित पोष्टमा करिव डेढ सयको संख्यामा आएका भारतीयले आक्रमण गरेका थिए । आक्रमणमा आएको समूहले हतियार खोस्ने प्रयास गरेपछि सशस्त्र प्रहरीले गोली चलाएको जनाएको छ । भारतीयले हतियार खोस्न खोजेपछि प्रहरीले १५ राउण्ड गोली चलाएको बताइएको छ ।
प्रहरीको गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको र दुई जना घाइते भएको जनाइएको छ । सशस्त्र प्रहरीको हतियार खोस्न खोज्ने एकजना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीतर्फ तीन जना गम्भीर घाइते भएका छन् ।उनीहरुको सर्लाहीमा उपचार भइरहेको छ ।
कोरोना संक्रमणपछि सीमा नाकामा हुने अवैध आवतजावत रोक्न सशस्त्र प्रहरी परिचालन भईरहेको अवस्थामा चार जनाको समूहमा आएका भारतीय ब्यापारी जर्वजस्ती नेपाल छिर्न खोजेका थिए । सशस्त्रले उनीहरुलाई रोकपछि नजिकैको गाँउका मानिसहरु बोलाएर उनीहरुले सशस्त्रमाथि आक्रमण गरेको बताइएको छ ।
