Wednesday, May 27News That Matters

सुकौरा नजिकैको जंगलमा मानव कंकाल फेला

पूर्णपुष्टि, माघ ३ गते ।

उदयपुरको त्रियुगा नगरपालिका १६ मा पर्ने सुकौरा नजिकैको जंगलमा मानव कंकाल फेला परेको छ । धरापे गाउँबाट करिब दुईकिलोमिटर टाढाको जंगलमा मानव कंकाल फेला परेको हो ।

विहेका लागि पात टिप्न गएका गाउँलेहरुले जंगलमा कंकाल देखेपछि प्रहरीलाई खबर गरेको थियो । कंकाल फेला परेको कुरा जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले पुष्टि गर्नुभयो । जंगलबीचमा छागो खस्ने अप्ठेरो ठाउँमुनी कंकाल रहेको र अबेर भएकाले भोलीपल्ट प्रहरीले मुचुल्का उठाउने जनाइएको छ ।

पुरुष वा महिला भन्ने कुरा प्रष्ट हुन नसकेको उक्त कंकाल दुईतिन महिना अघिको हुनसक्ने अनुमान स्थानीयको छ । त्यहाँ रहेका कपडाको आकलनले भने पुरुषकै हुनसक्ने अनुमान स्थानीयको छ ।

ककाल फेला परेको खबर लगत्तै घटनास्थल पुगेको सुकौरा प्रहरी चौकीले गाउँघरमा कोही हराएको छ कि भनेर सोधीखोजी गरिरहेको छ । तर हालसम्म कोही हराएको जानकारी नआएको जनाएको छ । टाढाकै मानिसको कंकाल हुनसक्ने अनुमान पनि स्थानीयको छ ।