
पूर्णपुष्टि, असोज १८
सुडानको सरकार र विद्रोही समूहबीच शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । हजारौँ नागरिकको ज्यान लिएका दशकौंदेखिको युद्धलाई सम्झौताले अन्त्य गरेको छ ।
सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए । सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा भेला भएका थिए । जहाँ सम्झौतामा हस्ताक्षर भएको छ ।
सरकार र विद्रोही विच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि दक्षिण सुडानी मध्यस्थता टोलीले लक्ष्य पूरा भएको जनाएको छ ।
सुडानमा लामो समयदेखि शासन गर्दै आएका आमार अल–बसीरलाई पदबाट हटाएपछि विगत एक वर्षदेखि संक्रमणकालीन सरकार रहेको थियो । उक्त सरकारको प्रमुख कार्य विद्रोहीलाई राजनीतिको मुख्य धारमा ल्याई द्वन्द्वको अन्त्यका लागि सम्झौता गर्नु रहेको थियो ।
सुडानको तर्फबाट अर्धसैनिक लडाकू मोहम्मद हमदान डाग्लो र सुडानी क्रान्तिकारी मोर्चा (एसआरएफ) का वार्ता प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका छन् । चाड, कतार, इजिप्ट, अफ्रिकी संघ, यूरोपेली संघ, तथा संयुक्त राष्ट्रसंघलाई सम्झौता साक्षी बनाइएको छ ।
यद्यपि सम्झौतामा ल्याउन खोजिएका डार्फर, ब्लु नाइल र कोर्दोफान क्षेत्रमा सक्रिय केही समूहले यस पहिले नै सम्झौता गरिसकेका छन् भने अझै दुई वटा समूहले भने सम्झौतामा सहभागिता जनाएका छैनन् ।

