Friday, May 22News That Matters

सुदूरपश्चिम प्रदेशभर आज मन्त्री सिंहको निधनमा शोक बिदा

पूर्णपुष्टि,असार ६ । सवारी दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा सुदूरपश्चिम सरकारले आज शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार आकस्मिक रूपमा बसेको मन्त्रिपरिषद बैठकले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय गरेको हो।

शोक बिदासँगै राष्ट्रिय झन्डा आधा झुकाउने सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले जानकारी दिए। दुर्घटनापछि मन्त्री सिंहको उपचारका क्रममा कोहलपुरमा मंगलबार बेलुका ५ बजेर ३३ मिनेटमा मृत्यु भएको थियो । मेडिकल कलेजले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री सिंहको मृत्यु भएको पुष्टि गरेको हो।

मंगलबार दिउँसो करिव दुई बजेतिरको समयमा डडेल्धुराबाट बझाङ जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी गाडीमै सवार मन्त्री सिंहकी पत्नी अमृता र भाउजू जयादेवीको भने घटनास्थलमै मृत्यु भएको थियो । घाइते भएका सिंहका पिएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई हेलिकप्टरमै लगी कोहलपुरमा उपचार भइरहेको छ।