Sunday, June 28News That Matters

सुनको भाउमा भारीगिरावट, आठ महिनायताकै सस्तो

पूर्णपुष्टि,फागुन ५

सुनको भाउ आज पछिल्लो आठ महिनायताकै सवै भन्दा सस्तो भएको छ । सुनको भाउ एकै दिन आज १ हजार १ सय रुपैयाँले घटेकोले सुनको भाउ प्रतितोला ८९ हजार ८ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजार र कारोबार नहुनु नै सुनको मूल्य घट्ने मुख्य कारण भएको महासंघले जनाएको छ । महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । हिजो सुन ९० हजार ९ सयमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको भाउभन्दा २० रुपैयाँ सस्तो भएर प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा चाँदीको कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ ।

कोरोना कहरका कारण सरकारले सुन आयातको कोटा घटाउँदा बजारमा कच्चा सुनको चरम अभाव भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सामान्य अवस्थामा बजारमा दैनिक ४० किलोको दरले सुनको कारोबार हुने गरेकोमा अहिले कारोबार गिरावट आए पनि सुनको अभाव कायम रहेको छ ।

दैनिक १५ किलोको दरले दैनिक आयात हुने सुन १० किलोमा झार्दा अफ सिजनमा पनि सुनको अभाव व्यवसायीले झेलेको महासंघले जनाएको छ ।

देशैभरका व्यवसायीहरुबाट सुन अभावको गुनासो आएपछि सरकारलाई कोटा बढाउन महासंघलाई आग्रह गरेको थियो । कोरोनाका कारण अर्थतन्त्रमा असर पर्न सक्ने भन्दै गत चैत १६ गतेदेखि सुनको आयात कोटा प्रतिदिन १० किलोमा झारेको थियो । महासंघका अनुसार एक वर्षमा नेपालमा ५० अर्ब रुपैयाँ बराबरको सुन चाँदीको कारोबार हुन्छ ।

देशभर २२ हजार व्यवसायी यो क्षेत्रमा संलग्न रहेको र १२ अर्बभन्दा धेरै कर राज्यलाई बुझाउने गरेको महासंघले जनाएको छ ।