
पूर्णपुष्टि,चैत्र २२ । नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत चैत ५ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार रुपैयाँ बढी हो।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
