Monday, June 29News That Matters

स्थानीय तहले पीसीआर मेसिन खरिद गर्न प्रक्रिया अघि बढायो

पूर्णपुष्टि, असार ५ गते । 

तनहुँका स्थानीय तहहरुले पीसीआर परिक्षण मेसिन खरिद गर्न प्रक्रिया अगाडी बढाएको छ । ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी १० पालिकाको संयुक्त लागतमा पीसीआर परीक्षण मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।

कोरोनाको विरामी बढ्दै गएपछि कोरोना परिक्षणमा सहजता ल्यायउने उद्देश्यले पालिकाले मेसिन खरिद प्रक्रिया अघि बढाएको हो । १० वटै पालिकाद्वारा शुक्लागण्डकी नगरपालिकालाई खरिद तथा भौतिक संरचना व्यवस्थापनको लागि जिम्मा दिइएको छ ।

नगरपालिकाले फायल तयार गरी गण्डकी प्रदेश सरकारसँग मेसिन खरिद प्रक्रियाको लागि अनुमति लिने कार्य भएको शुक्लागण्डकी नगरपालिकाले जनाएको छ । १० वटै पालिकाले प्रतिशतका आधारमा लागत सहभागिताको लागि प्रतिबद्धता जनाए अनुरुप पीसीआर परीक्षण मेसिन खरिद प्रक्रिया अघि बढाएको जनाएको छ ।

पीसीआर मेसिन खरिदका लागि जिल्लाका शुक्लागण्डकी नगरपालिकाको १४ प्रतिशत रहेको छ भने व्यास नगरपालिका, भिमाद नगरपालिका र भानु नगरपालिकाको १२÷१२ प्रतिशत लागत सहभागिता रहेको छ । त्यसैगरी म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिको ९÷९ र देवघाट गाउँपालिकाको ५ प्रतिशत लागत सहभागिता रहेको छ ।

शुक्लागण्डकी नगरपालिकाले सबै पालिकालाई परिपत्र गरेपछि आफूले दिनुपर्ने दायित्व शुक्लागण्डकी नपाको खातामा रकम जम्मा गर्ने र त्यसले पनि अपुग भए पालिका कार्यालयले अझै थप्न तयार रहेको शुक्लागण्डकी नगरपालिकाले जनाएको छ ।

पीसीआर परीक्षणको लागि प्रयोगशाला जीपी कोइराला श्वासप्रश्वास केन्द्र बेलचौतरामा राख्ने सहमति भए पनि त्यहाँबाट प्रदान गरिने भवनबाट मात्रै कार्य सम्पादन गर्न कठिनाइ देखिएकोले भौतिक संरचना निर्माण गर्न आवश्यक देखिएको छ ।

कोरोना रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनका विषयमा छलफल गरी क्वरेण्टीनमा रहेका व्यक्तिको पीसीआर परीक्षणको लागि सहज बनाउन जेठ अन्तिम हप्ता बसेको पालिकास्तरीय बैठकले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको थियो । पीसीआर मेसिनसहितको पूर्वाधार निर्माण गर्न एक करोड रुपैयाँ लाग्ने अनुमान रहेकोले १० वटै पालिकाको प्रतिशतको आधारमा लागत सहभागिता जनाएका छन्् ।

नेपाल सरकारले तोकेको मापदण्ड बमोजिमको पीसीआर मेसिन खरिद गर्न र आवश्यक पूर्वाधार निर्माण गर्ने जिम्मा शुक्लागण्डकी नगरपालिकालाई प्रदान गरिएको प्रक्रियागत कार्य भइरहेको जनाईएको छ ।