
पूर्णपुष्टि, भदौ १२
स्वस्थ बालबालिकामा कोरोना भाइरसको संक्रमण कम हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । बेलायतका अनुसन्धानकर्ताले स्वस्थ बालबालिकामा कोरोना भाइरसको गम्भीर संक्रमण दुर्लभ हुने गरेको र संक्रमणबाट मृत्यु झनै दुर्लभ रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।
द ब्रिटिश मेडिकल जर्नलले इंग्ल्याण्ड, वेल्स् र स्कटल्याण्डका एक सय ३८ कोरोना अस्पतालमा रहेका १९ वर्षमुनिका ६ सय ५१ बालबालिकामा गरेको अध्ययनले बालबालिकामा कोरोनाको गम्भीर संक्रमण दुर्लभ र मृत्यु झनै दुर्लभ पाइएको जनाएको छ ।
अस्पतालमा भर्ना भएका ६ जना बालबालिकाको मृत्यु भएकोे र यो मृत्युदर एक प्रतिशत हुन आएको जनाएको छ । कोरोनाबाट मृत्यु हुने ती बालबालिकामा पहिलेदेखि नै कुनै न कुनै किसिमको गम्भीर स्वास्थ्य समस्या रहेको अनुसन्धानले देखाएको छ ।
जनवरी १७ तारिखदेखि जुलाई ३ तारिखसम्म अस्पताल भर्ना भएका बालबालिकामा गरिएको अध्ययनले स्वस्थ बालबालिकालाई कोरोनाले गम्भीर असर नपार्ने देखाएको जनाईएको छ ।
