
पूर्णपुष्टि, फागुन १२
चालु आर्थीक वर्षको अहिलेसम्म प्राकृतिक कारणबाट चितवन राष्ट्रिय निकुञ्जका पाँच वटा हात्ती मरेपछि स्वास्थ्यप्रति संवेदनशील हुँदै शिविर आयोजना गरिने भएको छ । निकुञ्जका प्रत्येक पोष्टमा पुगेर हात्तीको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।
यसै हप्ता शिविर सञ्चालन गर्ने तयारी गरिएको निकुञ्जले जनाएको छ । अर्को महिना गैँडा गणना गर्ने कार्यक्रम भएकाले त्यसअघि नै शिविर गर्न लागेको जनाएको छ । शिविरमा हात्तीको विस्तृत स्वास्थ्य परीक्षण हुने जनाइएको छ ।
निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सकहरु परीक्षणमा सहभागी हुनेछन् । कतिपय हात्ती मात्तिएर मानवीय क्षतिसमेत हुने गरेकाले त्यसको पूर्वावस्थाको बारेमा पनि अध्ययन गरिने जनाएको छ ।
यसैक्रममा ती हात्तीहरुलाई जुकाको औषधिसमेत खुवाइने छ । निकुञ्जको मरेका हात्तीमा क्षयरोगसमेत देखिएपछि अन्य हात्तीको परीक्षणका लागि नमूना लिएर राखिएको छ । ती नमूना काठमाडौँ पठाइने जनाएको छ ।
सौराहाको दीपेन्द्र गज र सुन्दर माला, बेलसार पोष्टको विक्रमप्रसाद, खोरसोरको अप्सराकली र लामिचौर पोष्टको शङ्करप्रसाद मरेको जनाएको छ ।
पछिल्लो समय काम र चरेर फर्किएका हात्तीको खुट्टालाई सोडा पानीमा डुबाउने, धानलाई पखालेर मात्र खुवाउने जस्ता कार्य पनि थालिएको छ । अहिले निकुञ्जमा ५१ वटा हात्ती रहेका छन् । छ वटा कोशी वन्यजन्तु आरक्षमा दरबन्दी भएर पनि त्यही काम गरिरहेको जनाएको छ ।
निकुञ्जको खोरसोरमा हात्ती प्रजनन केन्द्र रहेको छ । केन्द्रमा जङ्गली हात्ती धु्रवे, रोनाल्डोलगायतको संसर्गबाट छावा जन्मिने गर्दछन् ।
त्यहाँ जन्मिएका छावालाई हुर्काएर तालीमपछि काममा पठाउने गरिन्छ । निकुञ्ज सुरक्षामा हात्ती प्रयोग हुने गरेको छ । विगतमा पर्यटक घुमाउन प्रयोग गरिने भए पनि पछिल्ला वर्षमा निजी हात्ती मात्र प्रयोग गरिँदै आएको छ ।
