Friday, May 22News That Matters

हेल्प डेक्सद्वारा अवैध मदिरा नियन्त्रण

पूर्णपुष्टि, जेठ ९ गते ।

त्रियुगा नगरपालिका–६ माटिखोप सुनौलो टोल बोजेको हेल्प डेक्सले अवैध घरेलु मदिरासहित एक महिलालाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको छ । लकडाउनको बेला अनावश्यक आवतजावत रोक्न र स्वास्थ्य काउन्सिलिङ गर्ने क्रममा मदिरा सहित स्थानीय दलमाया जोगीलाई प्रहरीको जिम्मा लगाएको हो ।

गत बैशाख ६ गतेदेखि नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा स्थानीय युवाहरुको समन्वयमा हेल्प डेक्स संचालन भएको हो ।

हेल्प डेक्सले स्वास्थ्य सम्बन्धि काउन्सिलिङ र अनावश्यक आवतजावतको मात्रै काम नगरी लकडाउनको समयमा धुम्रपान तथा मादक पदार्थ सेवन गरी गाउँमा हो हल्ला गर्ने ९ जनालाई यस अघि पनि नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाई सकेको नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले जानकारी दिनुभयो ।

हिजो जलजलेबाट गाउँ लैजादै गरेको १० लिटर मादिरासहित स्थानीय जोगीलाई प्रहरीको जिम्मा लगाएको अध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नु भयो “गाउँमा मदिरा व्यापार गर्नेहरुलाई घर–घरमै पुगेर सम्झाएको र उनीहरुलाई उद्योग, व्यावसय गर्न उत्प्रेरित गरिराखेका छौँ ।”

अहिले नयाँ मान्छेलाई सोधपुच्छ गर्ने र शंका लागेका मानिसलाई नियन्त्रण लिएर प्रहरीको जिम्मा लगाउने काम भईरहेको छ  । हेल्प डेक्सको सुचीमा दैनिक एक सय जनासम्म पर्ने गरेको छ । अत्यावश्यक भन्दा बाहेकका मानिसलाई त्यहिबाट फर्काउने काम भईरहेको अध्यक्ष थापाले बताउनुभयो ।

हेल्प डेक्सले स्थानियलाई स्वास्थ्य सम्बन्धी काउन्सिलिङ, अनावश्यक आबतजावतलाई रोकावट, अपरिचित ब्यक्तिलाइ गाउँ प्रबेशमा रोक, अत्यावश्यक कामका लागि जाँदा आउँदा पनि स्पष्ट कामको बिबरण खुलाउनु पर्ने लगायत सामाजिक दुरि बढाउने विषयमा सचेतना गर्दै आएको छ ।