
पूर्णपुष्टि, भदौ ८
एक जना १७ वर्षीया किशोरीको हत्या गरी फरार रहेका युवकलाई प्रहरीले १४ महिनापछि पक्राउ गरेको छ । कास्कीको मादी–९ स्थायी घर भइ मकैखोलास्थित मामाको घरमा बस्दै आएकी १७ वर्षीया किशोरी कोपिला परियारलाई हत्या गरेर फरार भएका स्याङ्जा हरिनासका खड्कबहादुर खवासलाई १४ महिनापछि कास्की प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
स्याङजा पुतलीबजार–४ स्थित शिव मन्दिर चोकबाट आईतबार पक्राउ गरिएका खवासलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज सार्वजनिक गरेको हो ।
गत असार २५ गते मादी–११ पातिघरमा अर्ध नग्न सडेको अवस्थामा कोपिलाको शव फेला पारेको थियो । घटनाको लामो अनुसन्धानपछि अपराधीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवम् प्रवक्ता सुवास हमालले बताउनुभयो । पक्राउ परेका खवासमाथि जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिनुभयो ।
