
पूर्णपुष्टि, असार २३
नेपालमा केहि दिनदेखि सलको झुण्ड कम हुदै गएको छ । झण्डै ८० लाखको संख्यामा भारतबाट नेपाल प्रवेश गरेका सलह कम हुँदै गएको प्लाण्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको हो ।
गत तीन दिनयता कुनै पनि जिल्लामा सलहले नोक्सानी गरेको खबर नआएको जनाएको छ । झुण्डहरु केही तितरबितर भएका तथा केही मरेका र केही चिसो ठाउँतिर गएकाले आफैँ हराएका केन्द्रले जनाएको छ । सलह नेपाल प्रवेश गरेदेखि नै उपयुक्त वातावरण नभएकाले पनि हराएका हुन सक्छ ।
बाग्लुङको ढोरपाटन क्षेत्रमा धेरैको संख्यामा सलह मरेका पाइएको जनाईएको छ । यस्तै कालिकोट, रुकुम, मुस्ताङ लगायतका ठाउँमा पनि झुण्ड पुगे पनि चिसो हावापानीका कारण आफैं मरेका हुन सक्छ । कम तापक्रम भएको बेला सलह बाँच्ने सम्भावना अत्यन्तै कम हुन्छ ।
नेपालभित्र फैलिएका सलहका झुन्डहरुबाट टुक्रिंदै समूहमा फैलिएर देशका ५५ वटा जिल्लामा पुगेको थियो । २–३ दिन यता लगातार पानी परेकाले पनि झुण्ड सक्रिय हुन नपाएको हुन सक्ने केन्द्रले जनाएको छ । यो झुण्ड अब सक्रिय भए पनि खासै नोक्सानी नपुर्याउने जनाएको छ । २२ डिड्री सेल्सियसभन्दा कम तापक्रम भएको ठाउँमा सलह उड्न सक्दैन ।
सलहले दाङ, प्यूठान, मकवानपुर, अर्घाखाँची र पाल्पामा बढी क्षति पु¥याएको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । झण्डै ११ सय १८ हेक्टरमा लगाइएको मकै, तरकारी, फलफुल र भटमासमा क्षति पु¥याएको छ ।
यसैबीच यो झुण्ड फैलने खतरा धेरै नभए पनि भारतको राजस्थानमा रहेको झुण्ड नेपाल आउने सम्भावना अझै रहेको छ ।
