
पूर्णपुष्टि, असार २४
प्रहरीले काठमाडौंको ठमेलस्थित एक होटलमा जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले चिनियाँ नागरिक हे सिआओलङले सञ्चालन गरेको होटल सिआओ सियाङ होटलबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
हिजो राति कबि १० बजेको समयमा प्रहरी टोली ठमेलको जेपी मोडस्थित होटलमा पुगेका थिए । प्रहरीले जुवा खेलिरहेको बेला सञ्चालकसहितलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा हे सिआओलङ, पी च्वाङछी, हु वाङबिन, हे फुयु र लि सिआओ टङ रहेका छन् ।
उनीहरूको साथबाट एक लाख २३ हजार रूपैयाँ नगद, जुवातास खेल्न प्रयोग हुने विद्युतीय टेबुल, तास, प्लाष्टिकको गोटी लगायत बरामद भएको छ । उनीहरूलाई जुवा ऐन अन्तर्गत कारबाही थालिएको प्रहरीले जनाएको छ ।
