Sunday, June 28News That Matters

६० बर्षीया वृद्धामाथि बोक्सी आरोपमा कुटपिट

पूर्णपुष्टि,चैत २

मोरङमा ६० बर्षीया वृद्धालाई बोक्सीको आरोपमा कुटपिट भएको छ । रतुवामाइ नगरपालिका–२ घर भएकी वृद्धामाथि छिमेकी परिवारका पाँच जनाले कुटपिट गरेका प्रहरीले जनाएको छ ।

वृद्धालाई बाँधेर कुटपिट गर्दा वृद्धाको अनुहार, हात, खुट्टा, ढाडलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । वृद्धाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । कुटपिट र आक्रमणबाट वृद्धा बेहोस भएपछि श्रीमानले प्रहरीलाई खबर गरेका थिए ।

वृद्धामाथि ६५ वर्षीय भीमलालसिंह गनगाईं, ६० वर्षीय जितनलालसिंह गनगाईं, ५० वर्षीय लखनलालसिंह गनगाईं, २७ वर्षीय लक्ष्मीप्रसादसिंह गनगाईं र १९ वर्षीया हैरानी गनगाईंले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

हैरानीकी दिदी पुनमदेवी गनगाईंसँग भएको विवादको रिसइबीलाई लिएर बोक्सीको आरोप लगाउँदै वृद्धामाथि सामूहिक आक्रमण गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा लखनलाल र हैरानीलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध बोक्सी आरोपको कसूरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट आइतबार अनुमति लिएको प्रहरीले जनाएको छ ।