Wednesday, May 6News That Matters

८ लाख धरौटीमा रविसहित तीनै जना छुटे

भदौ ९ गते ।

जिल्ल अदालत चितवनले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने सहति तीनै जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायधीश हेमन्तप्रकाश रावलको एकल इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो ।

न्यूज ट्वान्टि फोका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले बताए ।

पक्राउ परेका तीनै जनाले धरौटी बुझाएपछि थुनामुक्त गरिने उनले बताए । धरौटीमा छुटेपछि तीनै जनाले हिरासत बाहिरै बसेर थप कानूनी प्रक्रियाको सामना गर्नेछन् । अभियुक्तविरुद्ध लागेको आरोप भने अन्तिम फैसलाले टुंगो लगाउने छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनसम्म अनुसन्धान गरेर आइतबार रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । उक्त दिनै प्रतिवेदनको अध्ययन सकि जिल्ला अदालत चितवनमा आत्महत्या दुत्साहनको मुद्दा दर्ता गराएको थियो ।

त्यस दिन कार्कीको मात्रै बयान सकिएकाले तीनै जनालाई हिरासतमै राखिएको थियो । सोमबार लामिछाने र कडेँलको बयान सकिएपछि थुनछेक बहस भएको थियो ।

शालिकरामले आत्महत्या गर्नुपूर्व लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिर आएपछि गत साउन ३० गते प्रहरीले तीनैजनालाई पक्राउ गरेको थियो ।

मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना र ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । तर, जिल्लाको फैसला चित्त नबुझे उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन दर्ता गराउन सक्ने प्रावधान पनि छ ।