
पूर्णपुष्टि,फागुन ११
जिल्ला अदालत मोरङ परिसरबाट दुई जना थुनुवा फरार भएका छन् । प्रहरीले लागुऔषध मुद्दामा म्याद थपका लागि लगेका दुई जना थुनुवा अदालतबाट म्याद थप भइसकेपछि अदालत परिसरबाट फरार भएका हुन् ।
मोरङको कटहरी गाउँपालिका–४ निबासी ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका–५ निबासी २० वर्षीय प्रकाश चौधरीलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको थियो । अदालतबाट पाँच दिनको म्याद थप भएपछि हतकडीसहित उनीहरु भागेको प्रहरीले जनाएको छ ।
म्याद थपपछि खाजा खाने भनेपछि हातको एउटा हतकडी प्रहरीले खोलिदिएको थियो । हतकडी खुलेपछि सोमबार दिउँसो करिब साढे ३ बजे उनीहरु फरार भएको प्रहरीले जनाएको छ ।
खोजी गर्दा फेला नपरेपछि म्याद थप्न लिएर गएको प्रहरी टोलीले साँझ ६ बजेतिर जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराएको प्रहरीले जनाएको छ । फरार भएका थुनुवाको खोजी तीव्र पारेको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले शेखलाई आइतबार दिउँसो कटहरीबाट ८ ग्राम ब्राउन सुगर (खैरो हेरोइन) सहित पक्राउ गरेको थियो । चौधरी विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल, फेनारगनसहितका लागुऔषधसहित आइतबार पक्राउ परेका थिए ।
दुवै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीले म्याद थप गर्न उनीहरुलाई सोमबार एउटै हतकडी लगाएर अदालत लगेको थियो ।
म्याद थप गर्न अदालत गएका प्रहरीहरुमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
