Monday, April 20News That Matters

अधेँरीमा फेरी अर्को भयावह दुर्घटना, दुईको मृत्यु

पूर्णपुष्टि/उदयपुर, माघ ४ गते ।
मदन भण्डारी राजमार्ग अन्तर्गत नेपालटार–गाईघाट सडकखण्डको उदयपुरगढी गाउँपालिका –७ अधेँरीमा आज दिउसो मालबाहक ट्रक दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक विष्णुबहादुर खड्काका अनुसार बाग्मती प्रदेश ०६– ००१ ख ०५०५ नम्बरको मालबाहक ट्रक दुर्घटना हुँदा दुईजनाको ज्यान गएको हो । दुर्घटनाग्रस्त ट्रकले किचेर दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको सनाखत हुन बाँकी रहेको र ट्रकको धनीलाई बोलाइएकोमा आइपुगेपछि सनाखत हुने प्रनि खड्काले बताए ।
हेटौडादेखि स्याम्पु र साबनजन्य सामान बोकेर गाइघाटतर्फ जाने क्रममा उक्त ठाउँमा दुर्घटना भएको थियो । भारसहितको ट्रक ओरालोमा ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरिक्षक तिलक पौडेलले बताए ।
ट्रकको अघिल्लो भाग क्षतविक्षेत भएको र त्यसभित्र किचिएका दुईजनाको शब निकाल्न कठिन भएको थियो । उद्धारकर्ताहरुले टुक्राटुक्रा भएको अवस्थामा शब संकलन गरेर पोष्टमार्टमका लागि उदयपुर अस्पताल पुर्याएको छ ।
घटनास्थलमा नेपाल प्रहरी, ट्राफिक र सशस्त्र प्रहरी उद्धारमा खटिएका थिए । छरपष्ट सामानको सुरक्षाका लागि रातिसम्म खटिएका प्रहरीले सामान सुरक्षित ठाउँमा सार्ने प्रवन्ध मिलाएको थियो ।
अत्याधिकमात्रामा दुर्घटना हुने उक्त स्थानमा फेरी अर्को भयावह दुर्घटना भएको हो । अत्याधिक मोड र ओरालो रहेको अधेरी क्षेत्रको करिब ३ किलोमिटर अतिदुर्घटना जोखिम क्षेत्रमा पर्दछ ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार जिल्ला प्रशासन र स्थानीय तहहरुको पहलमा उक्त ठाउँमा मोड सुधारका लागि सरकारसंग पहल भईरहेको निकै लामो समय भयो तर सुधारको काम नहुँदा दुर्घटनाको संख्या थपिरहेको छ । “यो ठाउँ अति दुर्घटनाग्रस्त क्षेत्र हो । अत्याधिक मोड र ओरालो भएकाले अत्याधिक दुर्घटना भइरहेको पाइएकोले सुधारका लागि सरकारसंग पहल भइरहेको छ ।” प्रजिअ जोशीले भने ।