Sunday, June 28News That Matters

अनुहार ढाक्ने पोसाकमा प्रतिबन्ध

पूर्णपुष्टि, फागुन २४ 

स्वीजरल्याण्डमा बुर्का र नकाबसहितका अनुहार छोप्ने पोसाकमा प्रतिबन्ध लागेको छ । सार्वजनिक ठाउँमा अनुहार छोप्ने पोसाक लगाउनु पर्ने नपर्ने भन्ने विषयमा भएको  जनमत सङ्ग्रहमा नपर्नेमा बहुमत आएको हो ।

जनमत सङ्ग्रहले मुस्लिम महिलाले लगाउने बुर्का वा नकाबसहितका अनुहार छोप्ने लुगा सार्वजनिक ठाउँमा प्रतिबन्ध लगाउने पक्षमा सामान्य बहुमत आएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

प्रतिबन्धको समर्थनमा ५२ र विपक्षमा ४८ प्रतिशत मत खसेको जनाईएको छ । दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह गरिएको थियो । तर स्वीस इस्लामिक समूहले भने यो निर्णय मुस्लिम समुदायका लागि कालो दिन भनेको जनाईएको छ ।

सार्वजनिक ठाउँमा अनुहार छोप्ने पहिरनको विषय अरु युरोपेली देशहरूमा पनि विवादित छ । फ्रान्सले सन् २०११ मा अनुहार पूरै ढाक्ने पहिरनमाथि प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि नेदरल्याण्डस्, डेनमार्क, अस्ट्रिया पनि त्यस्ता पहिरनमाथि आंशिक वा पूर्ण प्रतिबन्ध लगाएका छन् ।