
पूर्णपुष्टि, असार १८ । जुम्लामा अन्तरर्जातीय विवाह गरेको निहँमा किशोरीको दाईले केटापक्षको घरमा आगजनी गरेका छन् । तातोपानी गाउँपालिका–४ गिदीखोलास्थित भरत नेपालीको घरमा आगजनी गरेको आरोपमा सोही स्थानका २२ बर्षीय हिक्मत गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बिहान घरमा आगजनी भएपछि भरतले गिरीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । उनलाई आइतबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रल्हद कार्कीले जानकारी दिए । हिक्मतमाथि आगजनी कसूरमा अनुसन्धान भइरहेको छ। घरमा आगजनी हुनुको कारण भरतको कान्छा भाई मुकुन्द नेपालीले हिक्मतकी अन्दाजी १४ बर्षकी बहिनिलाई भगाएर गरेको अन्तरर्जातीय विवाह हो । मुकुन्दले हिक्मतकी बहिनिलाई असार ११ गते भगाएका थिए ।
आगजनी भएको घर भरतले चार वर्ष अघि बनाएका थिए । उक्त घरमा साइँला भाई तिर्थ र मुकुन्द बस्दै आएका थिए भने भरत जुम्ला बजार बस्छन् । तिर्थ कामको सिलसिलामा शनिबार जुम्ला बजारमा गएका थिए । भरतका अनुसार २२ वर्षीय मुकुन्द नेपालगन्जमा अध्ययन गरिरहेका थिए । तर केही महिनादेखि उनी गाउँमै थिए। त्यसैबीच उनले हिक्मतकी बहिनीलाई भगाएका थिए।
भाईले भगाएको भन्ने खबर पनि केटीपक्षले नै दिएको भरतले बताएका छन् । हाम्रो सम्पर्कमा दुबै नरहेको र केटी पक्षको सम्पर्कमा रहेछन् ‘भरतले भने’ अन्तर्जातीय विवाह गरेकै कारणले उनीहरूले आगजनी गरिदिएका हुन्।’
पक्राउ परेका हिक्मतले पनि आफैंले आगजनी गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्। ‘विवाहकै कारणले आगजनी गरेको भनेर हामीसमक्ष प्रारम्भिक रूपमा भनेका छन्,’ डिएसपी कार्कीले भने । सम्पर्क विहिन रहेको मुकुन्द र उनीसँग विवाह गरेकी नाबालिग किशोरीलाई प्रहरीले खोजी गरिरहेको छ।
