Wednesday, June 17News That Matters

अन्धविश्वासको भेंटमा दुई निर्दोषको हत्या : तीन आरोपी पक्राउ

पूर्णपुष्टि, असार २० । पर्साको जगरनाथपुर गाउँपालिकामा अन्धविश्वासको कारण दुई जनाको निर्मम हत्या भएको घटनामा प्रहरीले तीन जना आरोपीलाई पक्राउ गरेको छ। गत जेठ २९ गते भएको यस हत्याकाण्डमा बारा कलैयाका रामएकवाल पण्डित कुम्हाल र उनका साथी सुरेश ठाकुरको ज्यान गएको थियो।
पक्राउ पर्नेहरूमा मुख्य योजनाकार लक्ष्मण कुमार प्रजापति, सन्तोष प्रसाद कुम्हार र महादेव महतो नुनिया रहेका छन् । प्रहरीको अनुसन्धानमा खुलेको तथ्य अनुसार, प्रजापतिले आफ्नो परिवारमा लगातार मृत्यु भइरहेको कारण काका रामएकवालले जादुटोना गरेको आशंकामा हत्याको योजना बनाएका थिए ।

प्रजापतिले आफ्नो भिनाजु सन्तोष कुमारसँग मिलेर चार महिना अघिदेखि योजना बनाएको र आठ लाख रुपैयाँमा हत्यारा समूहसँग सम्झौता गरेको खुलासा गरेका छन् । झारफुक गराउने बहानामा बोलाइएका रामएकवाल र उनका साथी ठाकुरलाई ओरिया खोला नजिक लगेर हत्या गरी शव गाडिएको थियो।
यस घटनाले समाजमा अझै पनि जरा गाडेर बसेको अन्धविश्वासको खतरनाक परिणाम देखाएको छ । प्रहरीले पक्राउ परेका तीनै जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ । यस्ता घटनाहरू रोक्न समुदायमा चेतनामूलक कार्यक्रमहरूको आवश्यकता रहेको विज्ञहरूले औंल्याएका छन्।