Monday, June 29News That Matters

अब, अर्को परिक्षण नभएसम्म भुल्केको कोरोना संक्रमित संख्या २८ मा स्थीर बन्ने अबस्था https://purnapusti.com/content/13069.html

पूर्णपुष्टि, वैशाख १० ।

एकैपटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको भुल्केमा कोरोना संक्रमितको संख्या एकपछि अर्को थपिदै जाँदा २८ पुगेको छ । अव भने यो संख्या अर्को परिक्षणको काम नभएसम्मका लागि स्थिर हुने देखिएको छ ।

भुल्केबाट संकलन गरिएको सबै नमुना स्वापको परिक्षण सकिएकाले हालसम्मको लागि जम्मा संख्या २८ मै स्थीरता आउने देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका अनुसार भुल्केबाट जम्मा ३ सय ३७ जनाको स्वाप संकलन गरी परिक्षण भएको हो । जसमा २८ जनाको रिपोर्ट पोजेटिभ फेला परेको हो ।

कार्यालयका अनुसार सुरुमा भुल्के मस्जिदबाट १६ जनाको स्वाप परिक्षण गरिएकोमा आजसम्ममा सबैको रिपोर्ट पोजोटिभ आएको हो । सुरुमा १६ जनाको स्वाप गत बैसाख २ गते कोशी अस्पताल विराटनगर लगिएको थियो । १४ जनामा १२ भारतीय र चार नेपाली नागरिक रहेका छन् । उनीहरुमध्ये १२ जनालाई कोरोना भएको पुष्टि बैशाख ५ गते सरकारले गरेको थियो । त्यसको भोलीपल्ट ६ गते उनीहरु मध्येकै अर्का एकजनामा पोजेटिभ पुष्टि भएको थियो ।

लगत्तै ६ गते नै प्रदेश सरकारले प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट स्वास्थ्यकर्मी टोली खटाइ मस्जिद रहेको बस्तीको ६९ जनाको स्वाप नमुना संकलन गरेको थियो । जसमा मुस्लिम समुदायको घरको एक/एक जना र संक्रमितसंग बढि सम्पर्कमा आएकासमेत गरी ६० जना र ४ स्वास्थ्यकर्मी, ५ सुरक्षाकर्मीको स्वाप नमुना संकलन गरिएको हो । उनीहरुको स्वाप विराटनगर स्थित कोशी अस्पतालमा परिक्षण भएको हो । ती ६९ मध्ये ८ जनाको रिपोर्ट पोजेटिभ भएपछि धरान स्थित विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुनः परिक्षणलाइ लगिएकाे थियाे । धरानले पाेजेटिभ रहेकाे पुष्टि गरेकाे थियाे ।

त्यसैगरी केन्द्रिय सरकारकै तर्फबाट खटाइएको नेपाली सेनाको स्वास्थ्यकर्मीटोलीले बैशाख ७ र ८ गते दुईदिन लगाएर सो बस्तिका थप २ सय ५२ जनाको स्वाप नमुना संकलन गर्यो । हेलिकेप्टरमा आएको स्वास्थ्यकर्मीले संकलन गरेको स्वाप नमुना केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौंमा लगेर परिक्षण गरेको हो । जसमा ३० जना स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुकोसमेत स्वाप नमुना संकलन गरिएको थियो । उक्त २ सय ५२ मध्येबाट चारजनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यसरी भुल्केको कुल ३ सय ३७ जनाको स्वाप परिक्षणमा २८ मा कोरोना भेटियो । भुल्केकाे परिक्षणमा सबैजसाे मुस्लिम समुदायका मानिस समेटिएका छन् भने नजिक, छरछिमेक र सम्पर्कमा रहेकाहरू समेटिएकाे जनस्वास्थ्य कायार्लय उदयपुरका प्रमुख माेहन सुवेदीले बताउनुभयाे ।