
पूर्णपुष्टि, बैशाख १० गते ।
साउदीमा कार्यरत नेपाली श्रमिकलाई रोजगारदाताले बसिरहेको ठाउँबाट अन्यत्र लैजान खोजेमा नमान्न साउदीमा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।
विश्वसनीय आधार भएमा गाडी चालकको मात्र नभई कम्पनीको प्रतिनिधिका साथमा मात्र जान र सहयोग चाहिएमा साउदी प्रहरीको ९९९ नम्बरमा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न आफू रहेकै ठाउँमा सुरक्षित भएर बस्न र रोजगारदाताले कुनै प्रलोभन देखाए वा जबरजस्ती गरेमा वास्ता नगर्न दूतावासले साउदीमा कार्यरत श्रमिकलाई अनुरोध गरेको छ ।
कोरोना संक्रमण बढेसँगै साउदीमा तारे होटलहरुलाई क्वारेण्टीनको रुपमा प्रयोग गर्न थालिएको छ । तारे होटलहरु क्वारेण्टीनका रुपमा प्रयोग हुन थालेपछि त्यहाँ कार्यरत श्रमिकले आफूहरु समस्या परेको गुनासो दूतावासमा गरेका छन् ।
दूतावासले रोजगारदाता कम्पनीसँग छलफल गर्दा त्यहाँ काम गर्ने सबैको सुरक्षाका लागि सरकारको निर्देशन अनुसार नै उपायहरु अपनाएको र समस्या नभएको बताएको छ ।
