
पूर्णपुष्टि, माघ १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरुको सामूहिक निष्कासन अभियान सुरु गरेका छन् । अमेरिकी अध्यागमन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १ हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना विदेशी नागरिकलाई अमेरिकाबाट निष्कासन गरिने भएको छ ।
निष्कासनमा पर्नेहरुमा होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना रहेका छन् । एसियाली मुलुकहरुमध्ये चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना नागरिक पनि निष्कासनमा पर्ने देखिएको छ ।
राष्ट्रपति ट्रम्पले शपथ ग्रहण गरेलगत्तै अवैध आप्रवासीहरुको निष्कासनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यससँगै अमेरिकी इतिहासकै सबैभन्दा ठूलो सामूहिक निर्वासन अभियान सुरु भएको हो । अध्यागमन कार्यालयले निष्कासनमा पर्ने व्यक्तिहरुको विवरण सार्वजनिक गरेसँगै अभियान तीव्र पारिएको छ ।