
पूर्णपुष्टि,पुष १५
अमेरिकामा पनि तीव्र गतिमा फैलिन सक्ने नयाँ प्रकारको कोरोना भाइरस देखिएको छ । पहिलोपटक बेलायतमा भेटिएको नयाँ प्रकारको भाइरस अमेरिकाको कोलराडो राज्यमा फेला परेको पुष्टि भएको हो ।
नयाँ किसिमको भाइरस एकदमै छिटो फैलिने भए पनि त्यसमा पुरानो भाइरसमा भएजस्तै गुणहरू भएको पब्लिक हेल्थ इङ्ल्याण्डले गरेको अनुसन्धानले देखाएको छ । नयाँ प्रकारको कोरोना संक्रमण भएका १ हजार ७ सय मानिसमा अध्ययन गर्दा नयाँ प्रकारको कोरोना भाइरसले पुरानोको जत्तिनै असर गर्ने देखिएको नयाँ प्रकारका भाइरसको अनुसन्धानमा खटिएका वैज्ञानिकहरूले बताएका छन् ।
यो नयाँ प्रकारको कोरोना भाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन् । नयाँ किसिमको भाइरसबाट हुने समस्या पुरानोको तुलनामा गम्भीर नरहेको बेलायतका वैज्ञानिकहरुले दाबी गरेका छन् ।
अहिले, विकसित गरिएका खोपहरु नयाँ प्रकारको भाइरस विरुद्ध पनि प्रभावकारी हुने अनुसन्धानकर्ताहरुले जनाएका छन् ।
गएको हप्ता मात्रै अमेरिकी स्वास्थ्य अधिकारीहरूले यो नयाँ भाइरस भेरियन्ट अमेरिकामा आइसकेको हुनसक्ने शंका गरेका थियो । नयाँ प्रकारको कोरोना भाइरस भारत, क्यानडा, जापान, स्पेन, स्वीडेन, फ्रान्स, बेलायतलगायत धेरै देशहरुमा पुष्टि भइसकेको छ ।
