Saturday, April 26News That Matters

अर्गानिक खानपिन गर्दै बाघखोर–लिम्चुङबुङ पदयात्रा गर्ने तयारी

पूर्णपुष्टि, बैशाख २ ।
उदयपुरको पर्यटन प्रवद्र्धनको उद्देश्यले बाघखोर–लिम्चुङबुङ–हलेसी ट्रेइल (पदमार्ग) अन्तर्गत लिम्चुङबुङसम्म दुईदिने यात्राको तयारी भएको छ । आगामी बैशाख ६ गते उदयपुरगडी गाउँपालिका ७ बाघखोरदेखि यात्रा सुरु गरी ७ गते लिम्चुङबुङको एभरेष्ट भ्युटप पुग्ने योजना छ ।
नेपाली सेनाको बोक्सेस्थित पशुपतीप्रसाद गण र लिम्चुङबुङ गाउँपालिकाको पहलमा पत्ता लागेको नयाँ पदमार्गको प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धनको उद्देश्यले पदयात्राको तयारी गरिएको हो ।
गणपती शिवप्रशाद वाग्लेका अनुसार पदयात्रामा जिल्लाको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुखहरु, विभिन्न पर्यटन, खेलकुद, पत्रकार क्षेत्रका प्रतिनिधिमुलक टिमले पदयात्रा गर्ने तयारी भएको हो ।
गाउँघरको जनजीवनसंग साक्षेत्कार गर्दै, बनपाखा, खोली–पधेरीहरु तर्दै स्थानीय उत्पादन, साग, सिस्नु, मकैभटमास जस्ता अर्गानिक खानपीन गर्दै यात्रा गरिने लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो ।
नेपाली सेना, लिम्चुङबुङ गाउँपालिका, प्रदेश सांसद नारायण बुर्जामगर र पत्रकारको टिमले केही समय अघि सिस्नु तथा झाडी पन्साउदै पदमार्ग पत्ता लगाएको थियो । विगतमा बाउँबाजेले मधेसबाट ढाकरमा नुन बोक्न प्रयोग गरेको बाटोको खोजी पदमार्ग बनाइएको हो । उक्त पदमार्गले उदयपुरगढी, राैतामाइ र लिम्चुङबुङ गाउँपालिकालाइ छुन्छ । पदयात्रा  स्वास्थ्यका लागिसमेत महत्वपूर्ण मानिएको छ ।