
पूर्णपुष्टि, फागुन २२ ।
सुनसरीको कोसी गाउँपालिका–४ जुद्धगञ्ज चोकमा अर्नामा मोटरसाइकल ठोक्किएर आइतबार राति दुर्घटना भएको थियो । जिल्लाको पूर्व पश्चिम लोकमार्ग अन्तरर्गत भएको दुर्घटनामा आठ जना घाइते भएका छन् ।
कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएर सडक पार गर्दै गरेको अर्नामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ३ प ८११४ नम्बरको मोटरसाइकल ठोक्किएर राति ८ः३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अर्नामा ठोक्किएपछि अनियन्त्रित बनेको मोटरसाइकल पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१५ ह ९३३८ नम्बरको अटो टेम्पोमा ठोक्किएको थियो ।
दुर्घटनामा परेर अटो चालक सप्तरी घर भएका ३६ वर्षीय सुरेशकुमार यादव, अटोमा सवार १८ वर्षीय शैलेश मण्डल, २२ वर्षीय राजेन्द्र मण्डल, २१ वर्षीय प्रतोश मण्डल, २० वर्षीय ओमप्रकाश मण्डल, १९ वर्षीय जयकरण मण्डल, १० वर्षीय धुरुप मण्डल र मोटरसाइकल चालक १९ वर्षीय रुपेशकुमार मण्डल घाइते भएका हुन् । सामान्य अवस्थाका घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार उपचारपछि केही घाइतेहरु डिस्चार्ज भइसकेका छन् । प्रहरीले दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । दुवै सवारीसाधनका चालकको साथमा सवारी चालक अनुमति पत्र लाइसेन्स नभएको पाइएको छ । एक्कासि अर्नाले सडक पार गर्दा दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ ।
