Sunday, May 17News That Matters

अवैधरुपमा डिजेल भारत लैजाँदै गरेको ३ जना पक्राउ

पूर्णपुष्टि,फागुन ४

अवैध रुपमा डिजल भारततर्फ लैजाँदै गरेको तीन जनालाई प्रहरीले नियन्त्रमा लिएको छ । मकवानपुरको मनहरी गाँउपालिका–३ बस्ने ३३ वर्षीय रामकृष्ण उप्रेती, राक्सीराङ गाउँपालिका–३ बस्ने २१ वर्षीय अशोक पाख्रीन र पर्साको वीरगञ्ज महानगरपालिका–२२ का शम्भु महतो पक्राउ परेका हुन् ।

च्याम्बरमा १ हजार लिटर र ट्याङ्करको फ्युल ट्याङकमा ३६० लिटर गरी जम्मा १ हजार ३६० लिटर डिजेल भारततर्फ निकासी गर्दैगर्दा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकोे छ । प्रहरीका अनुसार पक्राउ परेका उप्रेती ना.७ ख १५११ नम्बरको ट्याङ्कर चालक, पाख्रीन सहचालक र गुप्ता स्वेता आलय ट्रेडर्सको मुन्सी हुन् ।

वीरगञ्ज–२२ जगरनाथपुरस्थित स्वेता आयल ट्रेडर्सबाट ट्याङ्करमा डिजेल भरेर अवैध रुपमा निकासी गर्न आईसीपीको मुल बाटो हुँदै भारततर्फ जाँदै गरेको छ, भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो । आईसीपीको मुलगेटमा ट्याङ्कर रोकेर चेकजाँच गर्दा उक्त परिमाणको डिजेल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।