
पूर्णपुष्टि, असार २६
जोखिम क्षेत्रका बासिन्दालाई आइतबारसम्म सुरक्षित ठाउँमा बस्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । कष्ट सहेरै भए पनि आइतबारसम्म नदी किनार क्षेत्र र जोखिम आँकलन गरिएको क्षेत्रमा नबसी सुरक्षित ठाउँमा जान प्रविधिकरणले आग्रह गर्नुभएको हो ।
विपद्को पूर्वानुमान गरिएको पहिलो दिन बुधबार सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा भेलपहिरो र बाढीले क्षति गरेको छ । अहिले पहिरो बढी आउने पाइएको र विगतमा पहिरो खसेर बनेको भूभागमा कम्तिमा मनसुन सक्रिय भएको बेला नबसी अन्यत्रै सुरक्षित स्थानमा जान प्राधिकरणले आग्रह गरेको छ ।
तराई र चुरे क्षेत्रका मुख्य नदी तथा शाखा नदीमा सावधानी अपनाउन भनिएको छ । त्यस्तै ३० हजारभन्दा बढीलाई सतर्कताका लागि मोबाइल सन्देश पठाइएको पनि प्राधिकरणले जनाएको छ । यसअघि नै परेको पानीले जमिन गलिसकेकाले थोरै पानी पर्दैमा पहिरो र बाढीको ठूलो जोखिम रहेको प्राधिकरणले जनाएको छ ।
