Thursday, June 4News That Matters

आगलागीबाट छोरीको मृत्यु, बुबाआमा घाईते

पूर्णपुष्टि, बैशाख २३

भोजपुरको षडानन्द नगरपालिका–१४ बिहिबारे बजार स्थितमा आगलागि हुँदा बालिकाको जली मृत्यु भएको छ भने उनका बुवा, आमा दुवै जना जली घाईते भएका छन । हिजो बेलुका ७ बजे स्थानीय खेममणी तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागि भई घर पुर्णरुपमा जली नष्ट हुँदा निजको २ बर्षीया छोरी रेश्मा तामाङ आगोले जली घटनस्थलमा नै मृत्यु भएको हो ।

घर धनी खेममणी तामाङ, निजको श्रीमती मिना तामाङलाई आगोले पोली घाईते भएकोमा उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगिएको छ । उक्त आगो फस्ट राईफल गण दिङ्लाबाट खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी र स्थानियको सहयोगमा राती साढे २ बजे नियन्त्रण लिएको हो ।

आगलागिबाट खेममणी तामाङ र अर्जुन तामाङ समेतको २ वटा घर र घरमा भएको किराना पसल र कपडा पसल समेत पुर्णरुपमा जली नष्ट हुँदा अन्दाजी २ करोड ६० लाख २३ हजार बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको प्रहरीले जनाएको छ ।