Saturday, June 27News That Matters

आजदेखि सवै सरकारी कार्यालय खुल्ने

पूर्णपुष्टि, असार १ गते । 

आजदेखि लकडाउनले बन्द भएका सरकारी कार्यालयहर खुल्ने भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन गरेको ८३ दिनपछि सोमबरदेखि सकारी तथा गैरसरकारी कार्यालय साविकै रुपमा स्वास्थ्य सुरक्षा मापदण्डसँगै खुला हुने भएको हो ।

मन्त्रिपरिषद्ले गत साता नै लकडाउनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो । आर्थिक वर्ष सकिनै लाग्दा सर्वसाधारण, व्यवसायी, कम्पनी र संघसंस्थाको वार्षिक लेखा तथा कर फछ्र्योट गर्नुपर्ने भएकाले कार्यालयहरू खुुलाउनु जरुरी थियो ।

कोरोनाको संक्रमण फैलन नदिन आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी कार्यालय खोल्ने संघीय मामिला तथा सामान्य मन्त्रालयले जनाएको छ । आवश्यक स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सबै सेवा सुचारू हुने जनाईएको छ ।

आजदेखि २ सिफ्टमा सरकारले कार्यालय सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो चरणमा १ देखि साँझ ६ बजेसम्म कार्यालय खुला गर्न लागिएको हो ।

कार्यालयमा कार्यरत कुल कर्मचारीको आधा कर्मचारी पहिलो सिफ्टमा र बाँकी आधा कर्मचारी अर्को सिफ्टमा सेवा प्रवाह गर्ने गरी व्यवस्था गरिएको छ । सर्वसाधारणलाई सहज र छिटो सेवा प्रवाह गर्न सरकारले एकै दिन दुई सिफ्टमा सेवा प्रवाह गर्न लागेको हो ।

सेवाग्राहीको चाप अनुसार कार्यालयको समय तोकिएभन्दा बढी कायम गर्ने अख्तियारी कार्यालय प्रमुखलाई दिइएको मन्त्रालयले जनाएको छ ।

अनलाइन र टेलिफोनको माध्यमबाट सेवा प्रवाह गर्न सकिने कार्यालयले सोही माध्यमबाट सेवा प्रवाह गर्ने र आवश्यकता अनुसार टोकन प्रणालीको व्यवस्था गर्न सबै निकायलाई सरकारले आग्रह गरेको छ ।

लकडाउन सुरु भएदेखि नै सेवाग्राहीको काम रोकिएको मालपोत, कर, राहदानी, लाइसेन्स बनाउने, नागरिकता प्रमाणपत्र लिने, कम्पनी, उद्योग दर्ता लगायतका कार्यालयमा आजदेखि सेवाग्राहीको चाप बढ्ने निश्चित छ । सेवा लिने र दिने दुवैले कोरोना संक्रमण हुन नदिन आवश्यक स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्यरुपमा पालना गर्नुपर्ने छ ।

आजदेखि सबै कार्यालयले कार्यालयको मूल गेटमा नै कर्मचारी र सेवाग्राहीको शरीरको तापक्रम नापेर मात्र प्रवेश गराउनका लागि थर्मल गन सहित सुरक्षाकर्मीको व्यवस्था गर्नुपर्ने छ ।

ज्वरो नाप्दा १०४ डिग्रीभन्दा बढी ज्वरो देखिए तत्काल स्वास्थ्य संस्थामा पु¥याउन स्थानीय प्रशासन, पालिका र सुरक्षा निकायसँग नियमित सम्पर्क र समन्वय गर्नुपर्ने छ । यसैगरी हात धुनका लागि साबुन पानी र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने छ भने कामको चाप बढी पर्ने कार्यालयमा सेवाग्राहीलाई छुट्टै सेवा प्रवाह गर्न छुट्टै काउन्टरको व्यवस्था गर्नुपर्नेछ ।

कार्यालयमा सेवा प्रदान गर्दा एक कर्मचारीदेखि अर्को कर्मचारीको दुरी कम्तिमा २ मिटरको हुनुपर्ने, सेवाग्राहीले लाइनमा सेवा लिदाँ भौतिक दूूरी कायम गर्ने स्पष्ट देखिने गरी चिह्न निर्धारण गर्नुपर्नेछ ।

सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा आउने फ्रन्ट डेस्कका कर्मचारीले अनिवार्यरुपमा पीपीई, पञ्जा, माक्स लगाउनुपर्ने छ । यसैगरी स्वास्थ्य सम्बन्धी मापदण्ड सरकारी कार्यालयले मात्र नभइ सबै गैरसरकारी र उद्योग तथा प्रतिष्ठानमा समेत पूर्णरुपमा पालना गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

सुरक्षा मापदण्डको आवश्यक सहजीकरण, समन्वय र अनुगमन स्थानीय स्तरमा प्रमुख जिल्ला अधिकारीले गर्नेछ । यसैगरी संघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गर्ने छ भने सम्बन्धित मन्त्रालयले मातहतका कार्यालयको अनुगमन गर्ने व्यवस्था गरिएको छ ।