
कात्तिक २७ गते ।
आगामी मंसिरमा हुन लागेको उपनिर्वाचनका लागि स्थानीय तहमा आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तह अन्तर्गत एक नगर प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडा अध्यक्षका लागि उपनिर्वाचन हुने आयोगले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका लागि मनोनयन दर्ताको मिति अलग–अलग भए पनि मतदान एकै समयमा हुने भएको छ । बिभिन्न कारणले रिक्त ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।
३७ जिल्लामा हुने उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, स्थानीय तहको प्रमुख १, अध्यक्ष ३, उपाध्यक्ष १ र वडाअध्यक्ष ४३ पदमा जनप्रतिनिधि चुनिने छन् । उपनिर्वाचनमा भाग लिने दलहरूको संख्या १ सय १ छ । तीमध्ये सीके राउतको पार्टीसहित १६ नयाँ दल छन् ।
उपनिर्वाचनका लागि निर्वाचन आयोगले २ सय ४७ मतदानस्थल र ५ सय ३७ मतदान केन्द्र तोकेको छ । त्यसका लागि मुख्य निर्वाचन अधिकृत ३७ र निर्वाचन अधिकृत ११ जना नियुक्त गरिएको छ ।
