Sunday, May 3News That Matters

आज कोशी सहित पाचँ प्रदेशमा भारी वर्षाको सम्भावना

पूर्णपुष्टि, साउन १२ । आज कोशी सहित पाचँ प्रदेशमा भारी बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको र दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको र राति कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाका कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।