
पूर्णपुष्टि, भदौ २५
मिथिला क्षेत्र र थारु समुदायका महिलाहरुले घर–घरमै जितिया पर्व मनाउँदै छन् । आज जितिया पर्वको मुख्य दिन हो ।
वर्षको आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ पर्व मनाइन्छ । विगतमा नाच्दै गाउँदै तामझामका साथ मनाइने पर्व यस वर्ष कोरोना संक्रमणले घरमै बसेर जितिया मनाइँदै छ ।
आज जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ ।
भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्ने चलन छ । खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन् । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।
अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको ब्रत बस्ने गर्छन् ।

