
पूर्णपुष्टि,चैत्र ८ । आज औषधीय गुण भएको नीमको पात खाने र शरीरमा तेल लगाउने दिन परेको छ । परम्परागता मान्यता बोकेको उक्त दिन आज ९बुधवार० परेको छ । तितो अमृतका रूपमा लिने गरिएको नीमको पातलाई प्रत्येक वर्ष नयाँ साल सुरु हुनुअघि खाने चलन छ । आगामी मिठासको पर्खाईका लागि विगतका तितोपनालाई नीमको पातसँगै चपाउने गरिन्छ भन्ने मान्यता छ । नीमको पातलाई नैरोग्यको प्रतिकका रूपमा पनि लिने गरिन्छ ।
नीम प्राचिनकालदेखि नै आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुँदै आएको वनस्पति हो । यो स्वास्थ्यका दृष्टिकोणले धेरै फाइदाजनक मानिन्छ । नीम मानिसको शरीर, छाला तथा कपालका लागि अत्यन्तै फाइदाजनक औषधि हो । तर तितो स्वादका कारण प्रायले यसको सेवन मन पराउँदैनन् । यसको रस पिउँदा वा पात चपाँउदा स्वास्थ्यलाई धेरै फाइदा हुने प्रमाणित भइसकेको छ । नीममा भएको ‘एन्टी इंफ्लेमेट्री’ तत्वले चाया, डण्डीफोरआदिलाई नियन्त्रण गर्छ । अनुहार तथा शरीरको छालाको रङ्ग निखार्नमा नीमको रसको विशेष भूमिका हुन्छ ।
दुई भाग नीमको रस र एक भाग शद्ध मह मिसाएर सेवन गर्नाले शरीरलाई धेरै फाइदा पुग्छ । यसरी नीमको पात चपाउने र तेल लगाउने गर्दा हाम्रो शरीरको भित्री र बाहिरी भाग स्वास्थ्यकर हुने प्रमाणित मान्यता छ । नीमको पात खानाले पेटका रोगहरु हरण हुने र तेल लगाउनाले शरीर थप मजवुत तथा मुलायम हुने विश्वास छ ।
