
पूर्णपुष्टि,चैत्र ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मंलबार नाराबाजी गर्ने तीन जनामाथि अभद्र व्यवहारको मुद्दामा अनुसन्धान हुने भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ हिजो ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले उहाविरुद्ध नाराबाजी गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले अभद्र व्यवहारमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिन लागिएको जानकारी दिए । प्रवक्ता रिजालका अनुसार मंगलबार नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा ती युवाले ‘बैंकको ब्याज निकै महंगो भएकाले घटाउनु पर्ने माग गरेका थिए । उनीहरलाई ‘अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्न भनिएको छ। त्यसका लागि उनीहरूलाई जिल्ला प्रशासन कार्यालय लगिएको छ,’ उनले भने।
पक्राउ पर्नेमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्मा छन् । प्रहरीसँगको बयानमा उनीहरूले आफूहरू नेपाल स्वतन्त्र युवा अभियान समूहका अभियन्ता भएको बताएका छन् ।
‘बैंकको ब्याज निकै महंगो भएकाले घटाउनु पर्ने आफूहरूको माग भएको बताएका छन्,’ एसपी रिजालले भने।
